काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टीका केन्द्रीय सदस्य करनसिंह बडाल सवार मोटरसाइलकलाई ट्यांकरले ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । भक्तपुरको लोकन्थलीमा मंगलबार विहान बडाल सवार मोटरसाइलकलाई पेट्रोलियम पदार्थ बोक्ने ट्यांकरले ठक्कर दिएको थियो ।
दुर्घटनामा परी मोटरसाइलकको पछाडि बसेका बडालीकी पत्नी ३२ वर्षीया स्वस्तिका ऐर बडालको मृत्यु भएको थियो । बडाल गम्भीर घाइते भएका थिए ।
दार्चुला घर भई हाल काठमाडौंको कीर्तिपुर बस्ने ३४ वर्षीय बडालको लोकनथलीस्थित भक्तपुर इन्टरनेशनल अस्पतालमा उपचार भइरहेको छ । अस्पताल स्रोतका अनुसार उनि खतरामुक्त रहेका छन् ।
प्रहरीका अनुसार काठमाडौँबाट भक्तपुरतर्फ आउँदै गरेको बा २३ प ९२३४ नम्बरको मोटरसाइकललाई सोही दिशाबाट आउँदै गरेको डिजेल बोकेको ना ७ ख ९२६६ नम्बरको ट्यांकरले ठक्कर दिएको थियो ।
प्रहरीले ट्यांकर चालक बारा जितपुर सिमरा उपमहानगरपालिका–२१ अमलेखगन्ज बस्ने २५ वर्षीय प्रशान्त बललाई नियन्त्रणमा लिएर प्रहरी वृत्त थिमिमा राखेको छ । उनिविरुद्ध मुद्दा चलाउने तयारी भइरहेको प्रहरीले बताएको छ ।
बडाल प्रलोपाको दार्चुला जिल्ला इन्चार्जको जिम्मा लिएर जाँदै थिए । आगामी निर्वाचनमा दार्चुलाबाट उम्मेदवारी दिने तयारीमा रहेका प्रलोपाका नेताहरुले बताएका छन् ।


अनलाइन डबली


