आज :

कीर्तिपुरको सात गाउले (न्हेगाँ )जात्रा

  • अनलाइन डबली

पदम श्रेष्ठ-

भाजंगाल ,चोभार आदिनाथदेखि टौदहसम्म-
किर्तिपुरको सात गाउँले जात्रा न्हेगाँ जात्रा शुरु भैसकेको छ , बखुँमद जात्राको नाउँमा थालिने जात्रा एक साता भन्दा बढीm समयसम्म हुने गर्दछ । किपु ,नगाँ ,पाङगा ,मछिंगाँ ,बोसिगाँ ,सतुङगल ,नैकापगरी सात टोलको पहिचानमुखि जात्रा हो यो । राजनितिक वर्गिकरणमा मछिंगाँ, बोसिगाँ ,नैकाप र सतुङगललाई चन्द्रागिरी नगरपालिका अन्र्तगत पारिएतापनि सास्कृतिक रुपमा यी सातै टोल एक हुने गर्दछ जात्रा पर्वका बेला । तर यो आर्टिकलमा हामीले किर्तपुरको भ्रमण गर्दा दुई घण्टामा भित्रै हिडेर कति ठाउँ भ्रमण गर्न सकिएला भन्ने प्याकेज भ्रमणको चार्ट प्रस्तुत गर्दा उचित थानेका छौं ।
काठमाडौं उपत्यकाको दक्षिण पश्चिम डाँडामाथि थुम्कोको छुटटै बस्ती हो , कीर्तिपुर । मातातीर्थ ख वहालका गाई पालक सापु गोपाली र कृषक ज्यापूले सुयोग्य ठाउँको खोजीगर्दैजाँदा सागाःबाट कीर्तिपुरमा बस्ती विस्तार भएको भन्ने भनाई छ , गोपालवंशावलीमा । कथनुसार , एउटा गाईले रातमा गोठबाट फुत्किएर देवपत्तन पशुपतिनाथको ज्योति पुरिएको ठाउँमा दूध झारी फर्किन्थिन् रे संधै । आश्चर्यचकित भई खनेर हेर्दा ग्वालाका सरदार सोही ज्योतिमा जलेर भष्म भएछन् । उनै ग्वालाका वंशज भुक्तमान ( भुरिमाग) लाई नेमुनि (नेवार) ऋषिले नेपालको राजा बनाए भन्ने कथन छ । गोपालवंशी राजा भुक्तमानपछि जय गुप्त, परमगुप्त, भीम ( हर्ष ) गुप्त, भीम गुप्त द्वितीय,मणि गुप्त,विष्णु गुप्त र जय यक्ष गुप्त आठ पुस्ताले मातातीर्थबाट राज्य गरेको उल्लेख पाईन्छ ईतिहासमा । हालपनि गोपालीको कबिला बस्ती कीर्तिपुरको मच्छेगाउँ,मातातीर्थ,थानकोटहुँदै चित्लाङ ,टिष्टुङ , पालुङ सम्म पाइन्छ ।

राजा शिवदेव तृतीय र कीर्तिपुर ः-

ने.सं.२४३मा राजा शिवदेव तृतीयले कीर्तिपुरका शक्ति बाघभैरवलाई केन्द्र मानी पश्चिम शैव देवीदेवता रहनेगरी शिवरत र पूर्व बौद्ध देवीदेवता रहनेगरी देवरत बस्तीलाई ब्यवस्थित बसाइएको बताईन्छ  । शिवरत ने.सं.७६३मा उमामहेश्वर बन्नुअघि दरबार रक्षार्थ किल्लाकै रुपमा र बाघभैरवबाट पूर्व बौद्ध देव देवी विहार चैत्य रहनेगरी देवरत बस्ती ब्यवस्थित बसाएको भनाईछ  । जेहोस् शिवरततिर चाफल,सागाः कुरूवा,धांवहाल ,समल,सायमीटोल,द्योढोका, डोपाछें,तौल्हीं, क्वाचो,दवू,सवाः लाय्कू, सतःको क्षेत्रमा शिवसम्बन्धी देवताको बाहुल्य अझै पाउन सकिन्छ । नक्सामा १४वटा ढोका छन् । ती ढोकाहरुमा द्यो ढोका,गंःछें ढोका ,बाघभैरव ढोका ,चिथु ढोका भरियापुखु ढोका मूपुखु ढोका ,वहिरिगा ढोका ं,न्यातपाः ढोका ,पालिफा ढोका ,साःगाः ढोका ,कुरूझ्वाः ढोका ,समल ढोका ,सी ढोका र खांसी ढोका थिए तर हाल पुर्ननिर्माणको अभियान थालिदैछ भने नगरको चारैतिर देश रक्षार्थ स्थापित पर्खालको भग्नावशेषपनि पुनिर्माण थालिनुपर्ने देखिन्छ ।

देवरत क्वाथ उमामहेश्वर र लाय्कू-

दरवारको डाँडामाथि तीनतल्ले पेगोडाशैलीयुक्त उमामहेश्वर छ । कीर्तिपुरको अग्लो मन्दिर ने.सं.७७४मा निर्मित मानिन्छ । देश रक्षार्थ स्थापित किल्ला,क्वाथमा मन्दिर भिंmगटीछाने काठ र माटो बाट बनी ठडिएको छ । उपत्यकाको दृश्यावलोकन र शीतल हावा खान पुग्नसकिने देवस्थल म तीन खण्डको भुवनमाथि माहुते चढेको र त्यसमाथि दोस्रो खुड्किलोमा ढुंगाकै भैरव–भैरवी मूर्ति उभ्याउनुले भक्तपुरे कला सिर्जनाको स्मरण गराउँछ । मन्दिरभित्र उमामहेश्वर र पछाडि भगवतीको मूर्ति स्थापितहुनुले यो मन्दिर शाक्त र शैवको संयुक्त तीर्थस्थल हो । यही किल्ला छेउ राजा शिवदेव तृतीयको राज्यकालमा रहेको लाय्कू दरबारका भग्नावशेष छन् भने यही दरबारमानै कीर्तिपुरको अन्तिम मल्ल राजा ज्ञानप्रजा मल्ल र कीर्तिलक्ष्मी रानीले गोरखाका राजा पृथ्वीनारायण शाहविरूद्ध तीनपल्टसम्म जित्ने रणनीतिस्थल हो ।

नेवार सांस्कृतिक केन्द्र नेपाल भाषा एकेडेमी ः
नेवार एउटै जाति, नश्ल, धर्ममा आधारित जात होइन । तर नेवार भाषा र संस्कृतिले एक छ । त्यसैले त नेपालभाषाका महाकवि सिद्धिदास महाजु लेख्छन्– भाषा भ्वासा जाति म्वाई अर्थात् भाषा बांचे जाति बाँच्छ । यही भावना सात्दै जनकवि दुर्गालाल लेख्नुहुन्छ–
झिगु भाषा मन्त धासा ,गय थ्व नेपाः झिगु जुई,
थगुदेय् परदेश याका, म्वायगु न सिइगु जुई,
आफ्नो भाषा नरहे नेपाल कसरी हाम्रो रहन्छ ? मातृभाषा विहीन भई बाँच्नुपनि मृत्यु समान हो । यस्तै मार्मिकतालाई आत्मसाथगर्दै कीर्तिपुरमा नेपालभाषा एकेडेमी खडा भयो । ने.सं.१११२ मा सर्वोच्च नेता गणेशमान सिंहबाट उद्घाटित एकेडेमी ने.सं.१११९मा सीडीओमा दर्ता भयो । भाषारत्न सत्यमोहन जोशी, मल्लके सुन्दरजस्ता ब्यक्तित्वहरुको सक्रियतामा खडा भएको, एकेडेमी । मेयर हीराकाजी महर्जनको कार्यकालमा ३० रोपनी जग्गा उपलब्धपछि उद्योगपति गोपाल राजभण्डारीलगायतको लागानीमा दुईसय ५०जना अटाउने हल छ याहाँ । भवन विस्तारमा अमेरिकी नेवाः अर्गनाइजेसनका त्रिभुवन तुलाधरबाट प्रतिव्यक्ति एक डलर उठाएका थिए ।
दथु नरगो र बाघभैरव ः
कीर्तिपुरको इतिहास नरगो र बाघभैरवको आख्यानले छर्लङ पार्छ । स्थानीय बासिन्दा भन्छन्– कीर्तिपुरको प्राचीन बस्ती नरगो हो । जहाँ अहिलेपनि पुराना घरका पर्खालको जग पाउन सकिन्छ । आख्यानुसार कीर्तिपुर नरगोवासी झवाः मचाः(गोठाला) भेडा चराउन जङगल जाँदा माटोको बाघको मूर्ति बनाएर खेल्नेगर्दथे । बाघको बनाउदा बनाउँदै जिब्रो राख्न पात खोजेर फर्कंदा माटोको बाघले साक्षात रूप लिई भेडा सबै खाइदिएछन् । आश्चर्यचकित उनीहरू चिच्याएको सुनी नरगोवासी घटनास्थल पुग्दा जंगलको चारैतिर बाघ गर्जेको आवाज सुनेछन् । भनिन्छ, त्यसैबेलादेखि नरगोवासी हाल टंगालको हांडीगाउँमा बसार्इं सरेका हुन् । त्यसैले टंगालस्थित हांडीगाउँलाई नेपालभाषामा नरदे भनिएको हो । बाघबाट पीडित नःगां र पांगाःवासी मिली तान्त्रिकलाई देखाउँदा माटोको बाघमा भैरव प्रवेश गरेकाले शान्त गर्न पूजा गर्नुपर्ने सुझाव दिएछन् । सोही दिनको स्मरणमा भाद्र सिंह संक्रान्तिको दिन बाघभैरवलाई रांगा,भेडा,बोका बली दिई खुसी पार्ने र खटजात्रा गर्दैआइरहेको छ । तीनतल्ले आयातकार पेगोडाशैलीको बाघभैरव मन्दिर पाटन पिम बहालका महापात्र जगतपाल वर्माले ने.सं.३३५मा निर्माण गराएका हुन् । गोरखाका राजा पृथ्वीनारायण शाहले कीर्तिपुरे राजा र रानी कीर्तिलक्ष्मीको हत्याअघि ने.सं.८८४मा भएको युद्धमा कीर्तिपुरेले बाघभैरवको शक्तिले तीनपल्ट हराएको बताइन्छ । सो युद्धमा राजा पृथ्वीका भाई सुरप्रताप शाहको देव्रे आँखा फोडिनुका साथै गोर्खा सैनिक कमान्डर कालु पाण्डेको हत्या गरी ढाल,तरबार,कवच र फलामको भोटो बाघभैरवलाई चढाएका थिए । कालु पाण्डेको फलामको भोटो हातहतियार छाउनीस्थित राष्ट्रिय संग्रहालयमा छ ।
देपुखु र नारायण देगलः
बाघभैरवनेर ने.सं.७९६मा निर्मित नारायण मन्दिर पोखरीछेउ छ । गुम्बज मन्दिरको देपुखुमा गाईजात्रामा रांगाको खुट्टा पक्रने प्रतियोगिता हुन्छ । जसले रांगाको खुट्टा बाहिर उही वर्षकै भाग्यमानी मानिन्छ ।
कीर्तिपुरेको वीरता र पृथ्वीनारायण शाहको कुकृत्य
कीर्तिपुरे युद्धमा तीनपल्ट हारेका गोर्खाली राजा पृथ्वीनारायण शाहलाई युद्धकै मोर्चामा एक सिपाहीले काट्न लाग्दा अर्का खडगी सेनाले रोक्दै युद्धको नियमविपरीत राजालाई सिपाहीले काट्न हुँदैन भने, तत्कालै अर्का पुतुवार डोलेले अनेकौं जुक्ति लगाउँदै युद्धस्थलबाट बचाएर पृथ्वीनारायण शाहलाई थानकोटको यङ्की दहसम्म पु¥याइदिए, तर ने.संं८८४को युद्धमा कीर्तिपुरे राजा र रानीको हत्यापश्चात् निहत्था जनताको नाक काट्ने र थानकोटस्थित त्रिभुवनपार्कमा गाढे । भनिन्छ, जुन ठाउँलाई नेपालभाषामा न्ह्याय्दों भनिए । आजपनि कीर्तिपुरेले न्ह्याय्दों पुग्दा थुक्र्छन् । रानी कीर्तिलक्ष्मीले आत्मसमर्पण नगरी वीरगति प्राप्त गरेकाले पदम काष्टगिरीलाई कीर्तिपुर भनिए ।
चिलंचो, देवरत बौद्धस्थल अखडा ः
गोपालकालीन सापु,मेपु र ज्यापू संस्कृतियुक्त बस्ती कीर्तिपुर पदमकाष्ठ गिरीलाई राजा शिवदेव तृतीयले नयाँ संरचना दिएका हुन । ने.सं.२१९–२४३ ताकाको शिवरत लाय्कू , बाघभैरव र देवरत मध्ये बुद्धचैत्यले युक्त देवरतक्षेत्रमा चिलंचो छ । देवरत तर्फका इताछें ,तुइव ,तःननि, कुरूझ्व, मुआनत्वा, बहिरगा, बाकूननि, ल्ह्वहं देग, भरिया पुखु, चिलचों, चिथु, गुल्पु र वहीले प्रख्यात टोलभित्र आठवटा प्राचीन बिहार छन् । अन्य बुद्ध विहारमा जगतपाल महाविहार क्यपुबहाः,कामीकान्ति महाविहार क्यपुवही,जीवनवदन विहार,चैत्य रंग विहार, मयन्कीर्ति विहार कुसीबहाः,करूणाकार क्वंयबहाः, हर्षकीर्ति च्वयबहाः र देवकीर्ति देवबहाः छन् ।
चिलंचो चैत्य,जगत्पाल महाविहार ः
देवरत क्षेत्रको चिलंचो कीर्तिपुरको बौद्धस्थल हो । चैत्य समिप द्योछें घर शैलीको विहारलाई जगतपाल महाविहार भनिन्छ । अक्षोभ्य बुद्धप्रति समर्पित चिलचो अशोककालीन मानिन्छ तर चैत्य ने.सं.६३४मा पाटन पिम वहालका जगतपाल वर्माद्धारा निर्मित हुन्छ ।
चिलंचो क्षेत्रका बुद्ध विहार र मठ–मन्दिर ः
सिंहदुवास्थित धर्मधातु चैत्य ने.संं ७६१मा हाकू जः शाक्यद्धारा निर्मित मानिन्छ । क्वयः बहाः (करूणाकार ) सिंह दुवाको चैत्यसंगै ने.सं.७५३ मा निर्मित च्वयबहाः हर्षकीर्ति र क्वयबहाः करूणाकार विहार छन् । सिंह दुवाटोलमा नै ने.सं.८०३ मा निर्मित ढुंगे लोकेश्वर र ने.सं.७८३ मा ‘बुद्धधर्म लोहं देग मन्दिर राम भारोद्धारा निर्मित मानिन्छ ।
नगरमण्डप थाई श्रीकीर्ति महाविहार ः
ने.सं.१११० कालीन नेपालका संघनायक भिक्षु प्रज्ञानन्द महास्थवीरको अथक प्रयास र इतिहासविद् तथा पुरातत्वविद् भिक्षु सुदर्शन महास्थवीरको सक्रियतामा स्थापित नगरमण्डप श्रीकीर्ति महाविहारलाई थाईकीर्ति विहार भनिन्छ । कीर्तिपुरको चक्रपथ नयाँ बजारमा निर्मित यस विहार थाई सरकारको सहयोगमा बनेको हो । थाइल्याण्डका भिक्षु संघराज सोमदेय फ्राञाणसम्बरबाट ने.स.१११९मा उद्घाटित विहार नेपाल र थाइल्याण्डबीचको सम्बन्धको प्रतिक बनेको छ । ढुंगा छापेको चोकबीच भिक्षु प्रज्ञानन्द महास्थवीरको पूर्णकदको प्रतिमा र ने.सं.११११ को सिपुन्हीको दिन सम्वेजनीय थाई कलाशैलीमा स्थापित महाचैत्य र विहारले थाइल्याण्डको अनुभूति दिन्छ । प्रधानपञ्च धनलाल महर्जनद्धारा उपलब्ध चार रोपनी ‘ मन्द फल्चामा बनेको हो ।
भांजांगाल पांगा नः गाउँ ः
कीर्तिपुर आक्रमणबाट बच्न ने.सं.६२१मा राजा रत्न मल्लद्वारा बसाइएको किल्ला पांगाःको प्रमुख देवी हुन् वैष्णवी पीठ । चोभार पूर्व दुईतल्ले वैष्णवी मन्दिरको तोरणमा ने.सं.७९५उल्लेख छ ।। यहाँ ९ कप्ठेरा दाउराबाट पूरै लास खरानी हुनेहुँदा भाजंगाल भनिए । भगवान मान्नेले भाजंगाललाई ईश्वरको चमत्कार ठान्छन् भने वैज्ञानिकहरु भूमिगत प्रज्वलनशील रसायन भएको विश्वास गर्दछन् । भाजंगालमा अघिल्लो विधिपूर्वक नौ कप्टेरामाथि लास राखी जान्छन् भने भोलिपल्ट काजकिरिया गर्न खरानी लिन पुग्ने अनौठो परम्परा छ । कीर्तिपुरको अर्को उपगाउँ नः गाउँ अर्थात् फलाम खानी गाउँ हो । भूवनचैत्य,बज्र धातु चैत्य,जोरगणेश आदि रहेको नःगाउँको मुख्य बालकुमारी पीठ हो । मंसीर अष्टमीका दिन पांगा वैष्णवी पीठसंगै नः गाउँमा बालकुमारीको पनि जात्रा हुनेगर्दछ ।
चोभा द्यो —जोइपोइ मिलाउने र
रोग निको बनाउने आदिनाथ
काठमाडौंबाट पाँच कि.मी.दक्षिण कीर्तिपुरकैअर्को डाँडा चोयबहाः नै चोभार हो । लिच्छवीकालीन तीनतल्ले पेगोडाशैली आदिनाथको मन्दिर छ । आनन्दादी लोकेश्वर भनिने धातु तथा भिंmगटीले छाएको मन्दिर सातौं शताब्दीमा महासामन्त अंशुवर्माद्धारा निर्मित मानिन्छ । बुंगमतीको आर्यावलोकितेश्वरलाई वर्षा र सहकालका देवता,नालाको सृष्टिकान्ता लोकेश्वरलाई सृष्टिको प्रतीक,जनवहाल असनको जनवाद्यो आर्यावलोकितेश्वरलाई संसारका जनको पालनहार भनिए झैं चोभारको आदिनाथलाई रोगमुक्ति र आपसी मतभेद,लोग्ने–स्वास्नी सम्बन्धविच्छेदसम्मको स्थिति मिलाइदिने देवताकारूपमा लिइन्छ । आख्यानअनुसार एक समय हैजा रोग लागी धेरै लुभुवासी भटाभट मर्न थालेछ । जति पूजा गरेपनि निको नभएपछि गाउँलेले रिसमा मूर्तिलाई नख्खुमा बगाइदिएछन् । यसरी बगाइएको मूर्तिलाई चैत्रअष्टमीका दिन कीर्तिपुरेले वाग्मतीको किनारमा देखेछन् र श्रद्धा भक्तिपूर्वक बाजागाजाकासाथ आदिनाथलाई डाँडामा विराजमान गराए । यसैदिनको स्मरणमा वागमतीको सुलक्षण महाविहारबाट न्हवं महास्नान गराईने चलन छ । चोकबीच शिखरशैलीको वैत्राचार्य चैत्य छ । चैत्यलाई शैवले गन्धर्वेश्वर भनी भाँडाकुंडा, ऐना चढाउँछन।
कोयना गणेश (जल विनायक) मञ्जुश्री पार्क ः
चन्द्र, सूर्य र कार्य विनायकमध्ये एक हुन् जल विनायक कोयनाद्योपनि । चोभार गल्छी ( ह«्सिकाप )को तीनतल्ले पेगोडाशैली मन्दिरमा गणेश भने सादा ढुंगा पुजिन्छ । कथनअनुसार, उपत्यका पानीले भरिएको बेला स्वयम्भूज्योति दर्शनार्थ महाचीनबाट आएका मञ्जुश्रीले चोभार गल्छी काटेर बाहिर पठाएका थिए । त्यसैले चोभार गुफालाई मञ्जुश्री गुफा नाउँ सहित पार्क बनाएको छ । ने.सं.७२२ मा निर्मित गणेश परिसर सुःखावती लोकेश्वर, वरूण, सूर्य, शिव आदिले सिंगारिएको छ भने धातु छानायुक्त तीनतल्ले पेगोडाशैलीको कोयना गणेश प्रवेशद्वारमा दुई सिंह र गणेशको बाहन छुचुन्द्रो र टुंडालमा अष्टमातृका अष्टभैरव कुंदिएका छन् । कोयना गणेशलाई रांगा, हाँस, कुखुरा बलि दिईन्छ । यहि ७० फिट अग्लो ढुङगे मञ्जुश्रीपार्क छ ।
टौदह, किम्बदन्तीको संगम ः
५ सय मिटर लम्बाई र ४ सय मि.चौडाइ र सुख्खायाममा ६मिटर गहिराइको टौदहले बुँगद्यो (रातो मच्छिन्द्रनाथ)को भोटो देखाउने जात्राको किम्बदन्ती छ । काठमाठौंबाट ७ कि.मी.दक्षिणकाली बाटोमा पर्ने टौदह –( तवगु दह) प्राकृतिक ताल हो । चोभार छेदनगरी दहको पानी बाहिर पठाउँदा कर्कोटक नागराज रिसाएर अनिष्ट हुने भय सिर्जना भएपछि मञ्जुश्रीको आह्वानमा नागराजलाई टौदहमा विराजमान गराएछ । उनै नागराजकी रानीको आँखा दुख्दा ललितपुरबासी ज्यापुले आँखा दुख्ने रोग निको बनाइदिएछन् र त्यसबाट खुसी भएका नागराजले नवरत्न जडित भोटो उपहार दिएछन् । ज्यापुले भोटो फुकालेर खेतमा कामगर्दा ख्याकले चोरी भागेछ । एकदिन भोटो लगाई आइरहेका ख्याक र ज्यापुबीच घमासान युद्ध हुँदा बुंगद्यो रातो मच्छिन्द्रनाथले दुवैलाई भनेछन्– जबसम्म प्रमाण ल्याउँदैनौ तबसम्म रत्नजडित यो भोटो मसँगै रहनेछ । ख्याकको त भोटो नै थिएन ऊ जाने कुरै भएन । ज्यापूलेपनि टौदह जानेबाटोनै थाहा पाएनछन् । त्यसै बेलादेखि प्रत्येक वर्ष जावलाखेलको च्वासकाननीमा भोटो सुरक्षित छ है भनी देखाउने गरिन्छ । नागपञ्चमीमा मेला लाग्ने टौदहमा ३८जातका बोटबिरूवा,३६जातका कीरा र ११६ पंक्षीेहरु रहेको एक अध्ययनले बताएकोछ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal