रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिकामा भाइरल फ्लुको संक्रमण तीव्र गतिमा फैलिँदै गएको छ । गाउँपालिकाभित्रका विद्यालयहरूमा विद्यार्थी सामूहिक रूपमा बिरामी परेपछि जनस्वास्थ्यमा चुनौती बढेको छ ।
भाइरल संक्रमणका बिरामीहरू बढेपछि उमाकुण्ड–४, प्रितीस्थित चण्डेश्वरी माध्यमिक विद्यालय तीन दिनका लागि बन्द गरिएको छ । विद्यालयका प्रधानाध्यापक रुद्रकुमार जेस्पुचाका अनुसार मंगलबार बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले सङ्क्रमणको जोखिम नियन्त्रणका लागि कार्तिक २६ देखि २८ गतेसम्म पठनपाठन स्थगित गर्ने निर्णय गरेको हो ।
विद्यालयमा कक्षा १ देखि १२ सम्म अध्ययनरत विद्यार्थीहरूमा ज्वरो, खोकी, टाउको दुख्ने र बान्ता हुनेजस्ता लक्षण देखिन थालेपछि विद्यालय प्रशासनले यस्तो कदम चालेको प्रधानाध्यापक जेस्पुचाले बताए । उनका अनुसार कात्तिक ३० गते आइतबारदेखि स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउँदै विद्यालय पुनः सञ्चालन गर्ने तयारी गरिएको छ । मंगलबारसम्म विद्यालयमा अध्ययनरत ३ सय ६९ विद्यार्थीमध्ये १ सय ८५ जना बिरामी परेका छन् ।
उमाकुण्ड गाउँपालिका स्वास्थ्य शाखा प्रमुख अभिजित सुनुवारका अनुसार गाउँपालिकाभित्र भाइरल फ्लुसँगै सर्ने खालका ब्याक्टेरियाका संक्रमणहरू पनि देखिएका छन् । ‘हाल गाउँपालिकाका सातै वडामा १ सय ३९ महिला र १ सय ४४ पुरुष गरी २ सय ८३ जना भाइरल फ्लुका बिरामी उपचारमा छन्,’ उनले बताए ।
उनका अनुसार गाउँपालिकाभित्रका सबै माध्यमिक विद्यालयमा गरी ४ सय १३ विद्यार्थी बिरामी परेका छन् । ‘अधिकांश बिरामीमा ज्वरो, खोकी, टाउको दुख्ने, शरीर जोर्नी दुख्ने, र बान्ता हुनेजस्ता लक्षण देखिएका छन्,’ स्वास्थ्य शाखा प्रमुख सुनुवारले बताए ।
उनका अनुसार केही बिरामीमा सर्ने खालको कडा ब्याक्टेरिया पनि भेटिएको छ । त्यसैले उच्च सतर्कता अपनाउन र विद्यालय तथा सार्वजनिक स्थानहरूमा भीडभाड कम गर्न गाउँपालिकाले अभिभावक, विद्यार्थी र स्थानीय बासिन्दालाई अनुरोध गरेको छ ।


अनलाइन डबली





