
काठमाडौँ । अष्ट्रेलियामा रहेर सांगीतिक कर्ममा सक्रिय राईले दसैँको अवसरमा नयाँ गीत सार्वजनिक गरेका छन् । ‘राई ः दि जर्नी बिगन्स’ नाम दिइएको गीतलाई गायक राईले आफ्नै जीवन कथालाई धूनमा लिपीवद्ध गरेको बताएका छन् ।
आफूलाई राईका रुपमा मात्र चिनाउन रुचाउने उनको नाम सिद्धार्थ राई हो तर उनले आफ्नो परिचयलाई राईको रुपमा मात्र अगाडि बढाउने सोच अनुरुप गीतको ब्रान्डिङ गर्न लागेका हुन् । उनले यसका लागि ‘राई सधैँ राई,हामी नेपाली दाजुभाइ’ भन्ने नारा तय गरेका छन् ।
नेपाली संगीतलाई विश्वस्तरीय बनाउनु पर्छ भन्ने सोचसहित संगीतमा सक्रिय राईले यो गीत विश्वका ७ देशमा रेकर्ड गराएका थिए । उनले अमेरिकादेखि युरोपसम्ममा गीत रेकर्ड गराएका थिए । तर अष्ट्रेलियामा रेकर्ड गरेको गीत चित्त बुझ्दो लागेपछि उनले यही देशको रेकर्ड बाहिर ल्याएका हुन् । गीतको निर्माणमा मात्र ५० हजार डलर खर्च भएको राईले जानकारी गराए ।
‘यो गीतमा मेरो आफ्नै कथा छ । गीतले संघर्ष, आशा र सपनाको कथा भन्छ । युवा पुस्ताको रुचिलाई मध्यनजर गर्दै तयार गरिएको गीतले शब्द र संगीतमार्फत् सपनाको पछि दौडिरहेका लाखौँ युवाको अवस्था चित्रित गर्छ,’ राईको भनाइ छ । उनले नेपाली संगीतलाई विश्वमाझ परिचित गराउन गुणस्तरीय काम गरिरहेको पनि बताए ।
अष्ट्रेलियामा नै खिचिएको म्युजिक भिडियोमा अष्ट्रेलियाका सडकसँगै कन्सर्टको माहोल प्रस्तुत गरिएको छ ।
राईले यसअघि दर्जन हाराहहारी गीत सार्वजनिक गरिसकेका छन् । आफूलाई राईका रुपमा चिनाउन रुचाउने उनले हरेक गीतलाई राईसँग जोडेर प्रस्तुत गर्ने गरेका छन् । परदेशमा घरदेशलाई जोड्न रुचाउने उनका गीतले पनि यही मर्म आत्मसात गर्ने गरेका छन् । गीत राईट्युन्स नामको युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।
म्युजिक भिडीयो हेर्न तल फोटोमा क्लिक गर्नु होला –