
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले जेनजी आन्दोलनको बहानामा संविधान खारेज र राष्ट्रपति रामचन्द्र पौडेललाई हटाउन भएका प्रयासलाई आफूले नजिकबाट देखेको बताएका छन् ।
संविधान दिवसको अबसरमा शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘मैले संसद विघटन मात्रै होइन, संविधान खारेज गर्ने र राष्ट्रपतिलाई त्यो पदबाट हटाउन केकस्ता कसरतहरू भए भन्ने कुरा मैले नजिकबाट हेर्ने र बुझ्ने मौका पाएँ ।’
प्रचण्डले राष्ट्रपति पौडेल संविधान रक्षाको लागि दह्रोसँग उभिएको भन्दै धन्यवाद समेत दिए । प्रचण्डले भने, ‘राष्ट्रपतिजी निकै अप्ठ्यारो स्थितिमा संविधान रक्षामा दह्रो रूपमा उभिनुभएकै हो, उहाँ त्यसरी नउभिएको भए आज जे स्थिति छ, सायद त्यो हुँदैनथ्यो, उहाँलाई धन्यवाद छ ।’ उनले आन्दोलनपछि प्रधान सेनापति अशोकराज सिग्देलले खेलेको भूमिकाको पनि प्रशंसा गरेका छन् । संविधान र राष्ट्रपति संस्था बचाउन आफूले पनि सहजीकरण गरेको प्रचण्डको बताए ।
संविधान र राष्ट्रपति संस्थासँग माओवादीको ठूलो योगदान रहेको बताउँदै प्रचण्डले भने, ‘यो संविधान र राष्ट्रपति संस्था तथा अहिलेका राष्ट्रपतिसँग हामी माओवादीको पनि निकै ठूलो योगदान रहेको छ, त्यसैले हामीलाई त्यो भन्ने अधिकार थियो र छ ।’
प्रचण्डले आफूले अरू दलहरूसँग पनि सहजीकरणपछि सुशीला कार्की नेतृत्वमा अहिलेको अन्तिरिम सरकार बनेको पनि बताए ।
‘अन्य दलसँग पनि संवाद गरेर अन्तरिम सरकारको अहिले जे रूप देखिएको छ त्यसमा गएर भएपनि संविधान बचाउनुपर्छ भनेर हामी लागेका थियौं’ प्रचण्डले भने ।