काठमाडौँ । आवश्यकताको सिद्धान्तभन्दै संविधानको धारामै नटेकेर अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी सुशीला कार्कीले पहिलो निर्णय प्रतिनिधि सभा विघटन गरिन् । शुक्रबार राति राष्ट्रपति भवन शीतल निवासमा पहिलो निर्णय गरेर राष्ट्रपतिलाई सिफारिस गरेकी थिइन् ।
त्यसको केही बेरमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले मुलुकको संवैधानिक व्यवस्था विपरीत संसद् विघटन गर्ने निर्णय गरिएको भन्दै आपत्ति जनाएको थियो ।
शुक्रबार अध्यक्ष प्रचण्डको अध्यक्षतामा बसेको आकस्मिक भर्चुअल बैठकले वर्तमान राजनीतिक अवस्थाको विश्लेषण गर्दै संसद् विघटनप्रति गम्भीर असहमति जनाएको हो ।
पार्टीका उपाध्यक्ष तथा प्रवक्ता अग्नि सापकोटाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘विवर्तमान परिस्थितिको विश्लेषण गर्दै मुलुकको संवैधानिक व्यवस्था विपरीत जसरी वर्तमान संसदलाई विघटन गर्ने निर्णय गरिएको छ, उक्त निर्णयप्रति हाम्रो पार्टीको गम्भीर असहमति रहेको निर्णय गरिएको छ ।’
त्यसैगरी नेपाली काँग्रेस र नेकपा एमालेले पनि प्रतिनिधिसभा विघटनको विरोध जनाएका छन् । नेताहरुले राष्ट्रपतिले अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटनको सिफारिस गरेकी बताएका छन् ।
त्यसैगरी नेपाल बार एशोशिएसनले प्रतिनिधिसभा विघटन गर्ने कदम असंवैधानिक कार्य भन्दै विरोध जनाएको छ ।
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          

अनलाइन डबली




