
काठमाडौं । संविधान र लोकतन्त्रमाथि खतरा हुन थालेको भन्दै हुम्लाका माओवादी, काँग्रेस र एमाले त्यसो नगर्न चेतावनी दिएका छन् । जेन्जीको नाममा देशमा भएको विकसित राजनीतिक परिस्थितिको फाइदा उठाउँदै प्रतिगमनको खतरा भएकोसमेत प्रेस विज्ञप्तिमा जनाइएको छ ।
बिहिबार तीन दलीय संयन्त्रहको बैंठकले भाद्र २३ र २४ गतेका दिन देशको राजधानी काठमाण्डौं र विभिन्न शहरमा भएको जेन–जी आन्दोलनमा सहादत प्राप्त गरेका सम्पूर्ण युवाहरुमा भावपूर्ण श्रद्धाञ्जली तथा परिवारजनमा गहिरो समबेदना व्यक्त गर्दै घाईतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
जेनजीको नाममा घुसपैठ भएर राष्ट्रिय सम्पत्तिमाथि हमला गरिएको र सो कार्य गलत भएको नेकपा(माओवादी केन्द्र) हुम्ला संयोजक डा.दिपेन्द्र रोकालयाले बताए । रोकायाले परिवर्तन संविधानको सीमाभित्रै रहेर गरिनु पर्ने पनि बताएका छन् ।
माओवादी संयोजक डा.दिपेन्द्र रोकाया,नेकपा एमाले जिल्ला कमिटी हुम्लाका उपाध्यक्ष प्रकाश बहादुर शाही र नेपाली काँग्रेस हुम्लाका कार्यबहाक सभापति कैलाश भण्डारीले संयुक्तरुपमा विज्ञप्तिमा हस्ताक्षर गरेका छन् ।
संयुक्त विज्ञप्तिमा ६ बुँदे माग पनि गरिएको छ ।
१) जेन–जी आन्दोलनको नाममा यहि भाद्र २४ गते भएको अकल्पनिय आगजनी, तोडफोड, आक्रमण र लुटपाट खेदजनक छन । यसको लागि उच्चस्तरीय न्यायिक छानविनको माग गर्दछौं ।
२) जेन–जी आन्दोलनका एजेण्डाहरुको सम्मान गर्दै बर्तमान परिस्थितिमा संविधान र संसदीय प्रक्रिया भित्रबाट समाधान खोज्नुपर्छ । यसको लागि सर्वपक्षिय बैंठक आब्हान गर्न अनुरोध गर्दछौं ।
३) यो परिबेशमा धमिलो पानीमा माछा मार्ने र घुसपैठ हुने प्रवृति प्रति सचेत रहँदै केन्द्र देखी स्थानीय तह सम्म एकजुट र एकमत रहन अनुरोध गर्दछौं ।
४) जेन–जी पुस्ताले उठाएका मागहरु संविधानसम्बत लोकतान्त्रिक प्रक्रियाबाट पुरा गर्न सम्मानिय राष्ट्रपति ज्यू बाट भैरहेको पहलको समर्थन गर्दै शान्ति सुरक्षा कायम गर्न र त्यसमा सहजीकरण गर्न सम्बद्ध सबै पक्षलाई अनुरोध गर्दछौं ।
५) प्रतिकुल अवस्थामा पनि भविष्यप्रति आशाबादी हुन र विचलित नभई संविधानको रक्षा र लोकतन्त्रको पक्षमा सबै दलहरुलाई दृढता पूर्वक उभिन आग्रह गर्दछौ ।
६) हामी हुम्लाको विकास, शान्ति र सुशासनको पक्षमा निरन्तर क्रियाशिल भएको पृष्ठभूमिमा सबै पक्ष र पुस्तालाई संयम्ता, उच्च सुजबुझ, सजगता र शान्तिपूर्ण रुपमा निकासका पक्षमा रहन अपिल गर्दछौं ।