
काठमाडौं । तीज पर्वलाई लक्षित गर्दै गायिका एवम समाजसेवी धनकुमारी थापा सरुले टिकटकले भाइरल बनायो गीत बजारमा ल्याएकी छिन् । चर्चित हाँस्य कलाकार किरण केसी रातामकै र दिपाश्री निरौला अभिनित गीतको भिडियो पनि सार्वजनिक गरिएको छ ।
शुक्रबार काठमाडौंमा आयोजित विमोचन समारोहमा प्रमुख अथिति बरिष्ठ गायक बम बहादुर कार्कीले गीतको शब्द, संगीत र अभिनयको खुलेर तारिफ गरे । हिजोआज गीतको शैली र शब्दहरु समय अनुसार परिवर्तन हुन थालेका छन् । डिजिटल प्लेटफर्महरुले नेपाली गीत संगीतको प्रवद्र्धनमा सहयोग पुर्याइरहेको छ । टिकटकले भाइरल बनायो गीत डिजिटल प्लेटफर्म भित्र र बाहिर उत्तिकै चर्चित बन्नसक्छ, उनले भने ।
विमोचन समारोहमा फिल्म निर्देशक एवम नायिका दिपाश्री निरौलाले गीतको शब्द, संगीत र स्वरका कारण आफू अभिनय गर्न तयार रहेको सुनाइन । हास्य कलाकार किरण केसीले जनजिब्रोमा सँधै झुन्डिने किसिमको गीत तयार भएकाले अभिनयका लागि तयार रहेको बताए ।
समारोहमा गायिका धनकुमारी थापा सरुले टिकटकलाई गलत प्रयोग गर्ने भन्दापनि समाजका लागि सन्देश प्रवाह गर्ने सकारात्मक प्लेटफर्म बनाउन जरुरी रहेको र तीज पर्वलाई शिष्ट एवम मर्यादित रुपमा मनाउन सन्देश प्रवाह गर्नेगरी गीत तयार गरेको बताइन ।
धनकुमारी थापा सरु र मनोजसिंह धामीको स्वरमा रहेको गीतको शब्द संगीत धामीकै छ । प्रकाश भट्टको निर्देशनमा बनेको भिडियोमा दिपाश्री निरौला, किरण केसी, धनकुमारी थापा, मनोजसिंह धामीलगायतको रोमान्चक नृत्य एवम अभिनय देख्न पाइन्छ ।