
काठमाडौं । अखिल क्रान्तिकारीको प्रदर्शनमाथि प्रहरीले हस्तक्षेप गरेको छ । नकेपा (बहुमत) निकट अखिल क्रान्तिकारीले सोमबार निशुल्क, समान र वैज्ञानिक शिक्षा, जनपक्षीय शिक्षा ऐनको माग गर्दे माइतिघरमा प्रदर्शन गरेको थियो ।
अखिल क्रान्तिकारी बागमति प्रदेश इन्चार्ज गोविन्द विष्टका अनुसार पूर्वनिर्धारित कार्यक्रमअनुसार माइतिघरमा शान्तिपूर्ण प्रदर्शनमाथि प्रहरीले हस्तक्षेप गरेर केही विद्यार्थीहरुलाई प्रहरीले गिरफ्तार गरेको छ ।
‘पूर्वनिर्धारित कार्यक्रमअनुसार हामी निःशूल्क शिक्षा, समान र वैज्ञानिक शिक्षा, जनपक्षीय शिक्षा ऐन ल्याउन दबाव सिर्जना गर्न शान्तिपूर्णरुपमा प्रदर्शन गरिरहेका थियौं । सरकारले हाम्रो मागको सुनुवाई गर्नुको साटो हस्तक्षेप गरेर केही साथीहरुलाई गिरफ्तार गरेको छ’ विष्टले भने ।
अखिल क्रान्तिकारीले शिक्षा पहुँचवालाका लागि मात्र नभई पछि परेका समुदायलाई लक्षित हुनुपर्ने भन्दै सोही अनुरूपको कानून ल्याउन सरकारसँग माग गरेको छ ।
प्रहरीले प्रदर्शनमाथि हस्तक्षेप गरेपछि केही समय दुबै पक्षबीच झडप समेत भएको थियो ।
अखिल क्रान्तिकारीले यसअघि संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरेर असार ३० गते प्रदर्शन र साउन २ गते देशभर शैक्षिक हडतालको घोषणा गरेको थियो ।
यसैबीच अखिल क्रान्तिकारीका अध्यक्ष विरेन्द्र शाहले प्रहरी हस्तक्षेपको निन्दा गरेका छन् । प्रेस विज्ञप्ति जारी गरेर शाहले राज्यले आतंक मच्चाएर दमन गरेपनि काठमाडौँका विभिन्न स्थानहरुमा विद्यार्थीको प्रदर्शन सफल भएको बताएका छन् । उनले आफ्नो संगठनले अगाडि सारेका माग पूरा नभएसम्म निरन्तर आन्दोलन जारी रहने बताउँदै गिरफ्तार विद्यार्थीहरुलाई रिहाईको माग गरेका छन् ।
शाहका अनुसार प्रहरीले अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष रुपा बुढामगर, केन्द्रीय सचिवालय सदस्य लक्ष्मी शाह, सर्जन पाण्डे, आयुष घिमिरेलाई प्रहरीले गिरफ्तार गरेको छ ।
त्यसैगरी केन्द्रीय सदस्यहरु बज्जिर नेपाली, सक्षम विश्वकर्मा, सुप्रिया नेपाली, समीर बिक, सन्जना राईलगायतलाई प्रहरीले गिरफ्तार गरेको अध्यक्ष शाहले जानकारी दिए ।
विज्ञप्तिमा अध्यक्ष शाहले जनपक्षीय शिक्षा ऐन जारी गराउने संघर्षमा एकतावद्ध भएर होमिन अपील समेत गरेका छन् ।
फाेटाेहरू