
चितवन । लामो समयदेखि शिक्षा तथा राजनीतिमा सक्रिय नेता तथा नेकपा (एमाले) राष्ट्रिय सल्लाहकार परिषदका केन्द्रिय सदस्य भरत प्रसाद साह औपचारिक रूपमा नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् ।
बुधबार नेता साह चितवनमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को हातबाट टीका लगाई पार्टी प्रवेश गरेका हुन् ।
बारा जिल्लाको कलैया उपमहानगरपालिका–५ निवासी साहले आफ्नो राजनीतिक जीवनको सुरूवात २०३५ सालमा अखिल (पाँचौं) का बारा जिल्ला अध्यक्षको रूपमा गरेका थिए । त्यसपछि २०३७ र २०३८ सालमा ठाकुरराम कलेजमा दुई कार्यकाल स्ववियु सदस्यमा निर्वाचित भई विद्यार्थी राजनीतिमा सक्रिय सहभागिता जनाएका थिए ।
२०५४ देखि २०५९ सालसम्म एमाले शिक्षक संगठन बारा जिल्ला अध्यक्षका रूपमा नेतृत्व सम्हालेका साह २०६१ सालमा नेपाल शिक्षक युनियन बारा जिल्ला अध्यक्ष र २०७१ सालतिर केन्द्रिय अध्यक्ष बनेका थिए ।
राजनीतिक रूपमा स्थिर र अनुभवसञ्चित नेताका रूपमा चिनिएका साह हालसम्म नेकपा (एमाले) को राष्ट्रिय सल्लाहकार परिषद सदस्यको रूपमा क्रियाशील थिए । पार्टी नेतृत्व केपी शर्मा ओलीको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उनले माओवादी केन्द्र रोजेको बताइएको छ ।
पार्टी प्रवेशपछि अध्यक्ष प्रचण्डले साहको आगमनले पार्टी अझ बलियो हुने विश्वास व्यक्त गरेका छन् । साहको आगमनसँगै माओवादी केन्द्रले बारा लगायत मधेशमा थप सशक्त उपस्थिति जनाउने अपेक्षा गरिएको छ ।