
सुर्खेत । सुनसान कोठा, असरल्ल समान, दुइटा साना खटिया । यही हो, कालिकोट सान्नीत्रिवेणी–६ की मिलता बिकको हालको डेरा। कुनै समय बैनी फुलमती बिक बसेको यही डेरामा अहिले मिलता छिन् । शारीरिक पीडा, आँखा भरि आँसु र मनभित्र गहिरो पीडाका साथ।
२७ वर्षकी मिलता बिक अहिले हिडडुल गर्न बैशाखि साथी बनेको छ । दिसा–पिसाब गराउनेदेखि ओछ्यान सार्न समेत श्रीमान खाम्मा लुहारको भर पर्नुपरेको छ। खाम्मा आफैँ पनि संघर्षरत छन् । सान्नीत्रिवेणी-६ को बडरुख आधारभुत विद्यालयमा सामाजिक विषयका करार शिक्षक। गाउँपालिकाले दिने अनुदान तलब अहिले दुई महिनादेखि रोकिएको छ, श्रीमतीको उपचारका कारण स्कुल जान नपाएकोले। उनले पढाए बापत मासिक १६ हजार तलब पाउथे ।
सबै कुरा ठिकै थियो। फागुन ३ गते, मिलताका बुवाको निधन भयो। शोकले भिजेको मुटु लिएर उनी बाइकमा रास्कोट हिँडिन् – गाउँका आफन्त लोकेन्द्र बहादुर शाही ( मितेरी भाइ) को साथमा। तर, नियतिले ठट्टा गर्यो। रास्कोटको लरेखोलामा बाइक पल्टियो र मिलताको दाइने खुट्टा दुई ठाउँमा भाँचियो। दुर्घटनापछि आफन्तको सहयोगमा उनलाई रास्कोट अस्पताल पुर्याइयो। रास्कोट अस्पतालमा प्रारम्भिक उपचारपछि डाक्टरले भने – सुर्खेत जानुपर्छ। प्रारम्भिक उपचारमै १० हजार खर्च भयो।
अर्को दिन २५ हजारमा गाडी रिजर्भ गरी ३ बर्ष र ६ महिनाको दुई छोरालाई साथमा लिएर मिलता र उनका श्रीमान सुर्खेत पुगे । ११ वर्षकी छोरी सृष्टिलाई आफन्तकहाँ छोडेर । सुर्खेतको प्रदेश अस्पतालमा भर्ना भएपछि उपचार गरियो । खुट्टामा रड राखियो। एक महिनासम्म हस्पिटलमा बस्दा मिलताको झन्डै ४ लाख रुपैयाँ खर्च भयो। सोही वडाका समाजसेवी विश्वामित्र सञ्ज्यालले ५० हजार सहयोग गरे।
हाल उनी सुर्खेतको अन्नपूर्ण टोलस्थित बैनीको डेरामा बसिरहेकी छन्। उपचार अझै बाँकी छ। डाक्टरले भनेका छन् – अझै ८/९ महिना सम्म थप उपचार चाहिन्छ। तर थप उपचार कसरी गर्ने उनलाई समस्या छ । श्रीमान खाम्मा लुहार भन्छन्, “घरमा जम्मा गरेको पैसा सबै सकियो, दुई महिनाको तलब रोकिएको छ, श्रीमतीको उपचारमा अझै खर्च लाग्ने डाक्टरले भनेका छन्। स्कुल जान सक्दिन, श्रीमतीलाई दिसा पिसाब गराइदिनुपर्छ।”
मिलता भन्छिन , “बालबच्चा सानो छन् ,कसरी पाल्ने? आफ्नो उपचार कसरी गर्ने ? बस्न र खानै मुस्किल भइरहेको छ। अब के गर्ने के नगर्ने भन्ने दोधारमा छु।” उनले थपिन् , “तपाईंहरुबाट सहयोगको अपेक्षा गरेकी छु।”
मिलता बिकको उपचार र बालबालिकाको भविष्यका लागि तपाईंको सानो सहयोगले ठूलो परिवर्तन ल्याउन सक्छ। तपाईंको सानो हातेमालोले एक परिवार फेरि उठ्न सक्छ। त्यसका लागी मात्र सहयोगको खाचो छ । सहयोग गर्न चाहनुहुन्छ भने: कालिकोट, सान्नीत्रिवेणी–६ स्थित सानिमा बैंकको खाम्मा लुहारको नाममा रहेको खाता नम्बर: 073011060000085 मा सहयोग गर्न सक्नुहुन्छ । साथै उहाँकै मोबाइल नम्बरमा सम्पर्क गर्न सक्नुहुन्छ । मोबाईल नम्बर: 9866812447