आज :

महिला नेतृत्वको प्रभाव: मिनाकुमारी कार्कीले शंकर माविमा भित्र्याएको परिवर्तन

  • अनलाइन डबली

कालिकोट जिल्लाको सान्नीत्रिवेणी गाउँपालिका–१, सेरिज्युलामा रहेको श्री शंकर माध्यामिक विद्यालयमा हाल २० जना शिक्षक–शिक्षिका छन् भने ५३२ जना विद्यार्थी अध्ययनरत छन्। विद्यालयको नेतृत्व प्रधानाध्यापक मिनाकुमारी कार्कीले सम्हालिरहनुभएको छ। उहाँको नेतृत्वमा विद्यालयमा सकारात्मक परिवर्तनहरू आएका छन् — व्यवस्थापनमा सुधार, पठनपाठनको गुणस्तर वृद्धि, र विद्यार्थी अनुशासनमा उल्लेखनीय प्रगति भएको छ। प्रस्तुत छ उहाँसँगको संक्षिप्त कुराकानी:

सर्वप्रथम, प्रधानाध्यापकको रूपमा तपाईंको अनुभव कस्तो रह्यो? सुरुवाती दिनहरूमा के-कस्ता चुनौतीहरू सामना गर्नुपर्‍यो?
जब म श्री शंकर माध्यमिक विद्यालयमा प्रधानाध्यापकको रूपमा आएँ, त्यो मेरो लागि ठूलो जिम्मेवारी थियो। पहिले म कालिका मावि डाँडाखेतमा कार्यरत थिएँ, जहाँको कामको प्रकृति अलि फरक थियो। यहाँ आउँदा नयाँ ठाउँ, नयाँ सहकर्मी र फरक कार्यशैलीमा आफूलाई ढाल्नुपर्‍यो। सुरुमा विद्यालयको वातावरण बुझ्न र शिक्षकमाझ विश्वास निर्माण गर्न समय लाग्यो। खासगरी, महिला प्रधानाध्यापक भएकाले केहीले सुरुमा मेरो नेतृत्व स्वीकार नगरेको जस्तो पनि महसुस भयो। तर म बिस्तारै सबैसँग समन्वय गर्दै, छलफल गर्दै अघि बढेँ।

परिवार र पेशाबीच सन्तुलन कसरी मिलाउनुहुन्छ?
सन्तुलन कायम राख्न समय व्यवस्थापन अत्यन्त महत्वपूर्ण छ। मेरो जीवनमा श्रीमान्‌को साथ, सहयोग र हौसलाले मलाई निरन्तर अगाडि बढ्न प्रेरित गर्छ। उहाँको साथ र समझदारीले मलाई संसारकै भाग्यमानी महिला भएको अनुभूति गराउँछ। परिवारको माया र समर्थनले मेरो आत्मविश्वास झन् मजबुत बनाएको छ, जसले मलाई आफ्नो काममा अझ समर्पित बन्न मदत गर्छ।

तपाईं नेतृत्वमा आएपछि विद्यालय व्यवस्थापनमा के-कस्ता सकारात्मक परिवर्तन भएको छ?
म नेतृत्वमा आउँदा सहकार्य र समावेशी वातावरण निर्माणमा सजिलो हुने गरि काम गरिरहेकी छु। म विद्यार्थीहरूसँग प्रत्यक्ष संवाद गर्छु, सिकाइका समस्याहरूमा ध्यान दिन्छु, र शिक्षकमाझ खुलेर छलफल गर्ने वातावरण सिर्जना गरेकी छु। विद्यालयमा अनुशासनमा पनि सुधार आएको छ। साथै, विद्यालयको वातावरण विद्यार्थीमैत्री बनाउन विद्यार्थीहरूसँग सल्लाह गरेर विभिन्न सिर्जनात्मक कार्यक्रमहरू सञ्चालन गरेका छौं।

शिक्षण तथा सिकाइको गुणस्तर सुधार गर्न के कदम चाल्नुभएको छ?
शिक्षणमा नवीनता ल्याउन विभिन्न पहल गरेका छौं। शिक्षकहरूलाई पाठ योजनामा नवीनता ल्याउन प्रोत्साहित गरिएको छ। नियमित रूपमा शिक्षकहरूसँग बैठक गरी पाठ योजनाको समीक्षा गर्छौं। अतिरिक्त कक्षाहरू, अभिभावक-शिक्षक बैठक, र प्रयोगात्मक शिक्षण विधिलाई जोड दिइरहेका छौं। विद्यार्थीको बुझाइलाई प्राथमिकता दिँदै उनीहरूको जिज्ञासा मेट्न शिक्षकहरूलाई प्रेरित गर्छु।

विद्यार्थीहरूलाई अनुशासित र प्रेरित बनाउन तपाईंको नीति के छ?
म विश्वास गर्छु — अनुशासन थोपर्ने होइन, सिकाउने कुरा हो। विद्यार्थीहरूसँग नियमित संवाद गर्छु। उनीहरूलाई प्रेरित गर्न सफल व्यक्तिहरूको कथाहरू सुनाउने, र उनीहरूको साना सफलतालाई पनि विद्यालयमा सम्मान गर्ने गर्छौं।

विद्यालयको हालको प्रमुख चुनौती के हो, र त्यसको समाधानका लागि के गरिँदैछ?
हालको मुख्य चुनौती शिक्षणमा प्रविधिको अभाव र कतिपय विद्यार्थीको निरन्तर उपस्थिती नहुनु हो। समाधानका लागि स्थानीय तहसँग समन्वय गरी प्रविधि सहयोगका लागि पहल गरिरहेका छौं। साथै, विद्यार्थीहरूलाई विद्यालय आउन प्रेरित गर्न अभिभावकहरूसँग छलफल र सचेतना कार्यक्रम गर्दैछौं। विद्यार्थीहरूलाई नियमित गृहकार्यको अभ्यास गराइरहेका छौं।

भावी योजनाहरू के छन्?
विद्यालयलाई प्रविधिमैत्री बनाउने र प्रयोगशालात्मक शिक्षामा जोड दिने योजना छ। साथै, विद्यार्थीहरूको रुचि र क्षमताको पहिचान गरी सह-पाठ्यक्रम गतिविधि सञ्चालन गर्ने लक्ष्य राखेकी छु।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal