
काठमाडौँ । व्यवसायी कालु गुरुङले आफूमाथि लगाइएका आरोपहरु झुट भएको बताएका छन् । केही दिन पहिले मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले गुरुङमाथि विभिन्न १५ आरोप लगाउँदै सामाजिक बहिस्कार भन्दै पोष्टरिङ गरेको थियो ।
यसबारे छोटो प्रतिक्रिया दिँदै गुरुङले आफूले नसुनेको र नगरेका आरोप लगाएर आफ्नो चरित्रहत्या गर्न खोजेको भन्दै त्यसको कानुनी उपचार खोज्ने बताए ।
‘सबै कुरा झुट हुन्, कतिपय मेरो जानकारी नभएका कुरा समेत मैले गरेको भन्दै आरोप लगाएर चरित्रहत्या गर्ने प्रयास गरिएको छ । यसको कानुनी उपचार खोज्ने तयारीमा छु’ गुरुङले भने ।
जनयुद्ध दिवसको अबसर पारेर क्रान्तिकारी कम्युनिस्ट पार्टीले गुरुङले बानेश्वरस्थित अवाले परिवारको उठिबास लगाउन लागेको, नेकपा एमालेलाई जग्गादान दिएर युनिटी ठगि सम्बन्धी मुद्दालाई मिलाउन खोजेको, अर्का व्यवसायी मीनबहादुर गुरुङसँग मिलेर बैंक तथा वित्तिय संस्था डुबाउन लागेको, जनयुद्धमा सामन्तको जग्गामा बसोबास गरिरहेका सुकुम्बासीको उठिबास लगाएको लगायत १५ आरोप लगाउँदै सामाजिक बहिस्कार अभियान सुरु गरेको बताएको थियो ।