काठमाडौँ । शुक्रराज ट्रापिकल अस्पताल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा. युवानिधी बसौलाले सप्लायर्ससँगको मिलेमतोमा अहिलेसम्मकै ठूलो भ्रष्टाचार काण्ड घटाएका छन् ।
अस्पतालको लागि आवश्यक सर्जिकल सामान खरिदको लागि मितिः २०८१।०५।०५ मा ठेक्का नं. STIDH/goods/NCB/05/081-82 बोलपत्र आह्वान गरिएको थियो । कुनै मापदण्ड नबनाएर आह्वान गरिएको उक्त सामान खरिदको लागि ९ वटा सप्लायर्स कम्पनी सहभागी भएका थिए ।
सहभागी कम्पनीमध्ये सबैभन्दा कम रुप्सा मेडिसेल्स प्रा.लि.ले १,४९४,४२५.५६।– रुपैयाँ बिड गरेको थियो भने सबैभन्दा बढी डालीमा मेडिसेल्स प्रा.लि.ले ९,००६,४१६.५६।– रुपैयाँको बोलपत्र पेश गरेको थियो । सबैभन्दा कम मूल्य पेश गर्ने रुप्सा सप्लायर्सलाई ठेक्का दिनुपर्नेमा निर्देशक डा.बसौलाले सबैभन्दा बढी मूल्य पेश गर्ने डालीमाको बोलपत्रलाई स्वीकृत गरेको भेटिएको छ ।
त्यसैगरी उक्त बाेलपत्रमा सहभागी भुमे ट्रेड एण्ड सप्लायर्स प्रा.लि.ले ६,१०२,०२३.७३।– सुप्रिम ट्रेडिङ हाउसले ७,१३४,५९४।– सक्षम को–अप्रेशन प्रा.लि.ले ६,८८२,८३०।– बेनली लाइफसाइन्स प्रा.लि.ले ६,०७७,३२०.८।– मेडिपोइन्ट इन्टरनेशनल प्रा.लि.ले ५,७६०७११.७५।– र दिनेश इन्टरप्राइजेज प्रा.लि.ले २,५७७,२९२.७।– रुपैयाँमा सामान खरिदको लागि बिड गरेका थिए । त्यस्तै, राजश्री मेडिहेल्थ प्रक्रियामा सहभागी भएन ।
निर्देशक डा.बसौलाले १४ लाख बिड गर्ने कम्पनीलाई नदिएर ९० लाखबढी बिड गर्ने कम्पनीलाई ठेक्का दिएर ७५ लाखबढी भ्रष्टाचार गरेको अस्पताल स्रोतले जानकारी दिएको छ । डालीमा मेडिसेल्सका संचालक दिनेश गौतमसँगको मिलेमतोमा डा.बसौलाले यो भ्रष्टाचारको काण्ड घटाएका हुन् । यसमा अस्पतालका खरिद इकाई प्रमुख पुरण गुरुङ, स्टोर प्रमुख राजन आचार्यले सहयोग गरेको अस्पताल स्रोतले बताएको छ । गुरुङ भ्रष्टाचार सम्बन्धी अर्को मुद्दामा हाल निलम्बनमा परेका छन् ।
स्रोतका अनुसार यो प्रकृतिको भ्रष्टाचार यस अस्पतालमा घटेको थिएन । ‘ठूलो सामान खरिद गर्दा केही प्रतिशत भ्रष्टाचार भएको त हुनसक्छ बजार मूल्यभन्दा पाँच गुणबढी मूल्यांकन गरेर पनि करिब १५ लाखको सामान खरिदमा ७५ लाखबढी भ्रष्टाचार पहिलोपटक देखेका हौं’ अस्पताल स्रोतले भन्यो । उक्त भ्रष्टाचार रकम डा. बसौला, खरिद इकाई प्रमुख गुरुङ, स्टोर प्रमुख आचार्यलगायतले बाँडेर खाएको स्रोतले बतायो ।
यो भ्रष्टाचार काण्डमा डा. बसौलाले स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदिप पौडेललाई पनि मुछेका छन् । खरिद कमिटीका अन्य कर्मचारीले हस्ताक्षर गर्न नमानेपछि मन्त्रीलाई भनेर दुर्गम सरुवा गराइदिने धम्कीसमेत दिइएको एक कर्मचारीले बताए । डा. बसौलाले मन्त्री पौडेललाई समेत मिलाउनु पर्ने भन्दै सप्लायर्ससँग हाँकाहाँकी कमिसन उठाइरहेको अस्पताल स्रोतको दाबी छ । कमिसन बाँडफाँडलाई ढाकछोप गर्न डा. बसौलाले आचार्यलाई सरुवा गरिसकेको स्रोतले बतायो ।
यो भ्रष्टाचार काण्डमा सप्लायर्स विकाश लम्सालले पनि डा. बसौलालाई सहयोग गरेको दाबी स्रोतको छ । लम्साल कान्तिमा सेटिङमा सामान खरिद गर्ने गरेका छन् । डा. बसौलाय शुक्रराजको निर्देशक भएपछि लम्सालको डेरा पनि यतै हुने गरेको स्रोतको दाबी छ । विकास एण्ड ब्रदर्स, मिलन मल्टी, सुमेरा इन्टरप्राइजेज, एलेक्स इन्टरनेशनललगायतका फर्मबाट कर्मचारीलाई कमिसन खुवाउँदै सेटिङमा काम गर्दै आएको अस्पतालका कर्मचारी बताउँछन् । लम्साल कान्तिमाझैं दैनिकजसो शुक्रराजमा पुग्ने डा. बसौलाको कार्यकक्षमै बस्ने र तल्लो तहका कर्मचारीमाथि दुर्व्यवहार गर्ने गरेको बताइएको छ ।
डा. बसाैलाले सेटिङमा काम नगर्ने सप्लायर्सलाई दुर्व्यवहारदेखि धरौटी जफत समेत गर्दै आराेप पनि लागेकाे छ । अस्पताल फार्मेसीको लागि औषधि खरिद गर्ने एक सप्लायर्सले डा. बसौलालाई कमिसन नदिएकै कारण धरौटी जफत गरेको स्रोतको दाबी छ ।
त्यसैगरी अस्पतालले औषधि खरिदको लागि आह्वान गरेको टेण्डरमा कुनै मूल्यांकन मापदण्ड नराखेएको भेटिएको छ ।
यसबारे डा. बसाैलासँग प्रतिक्रिया लिन हाम्र प्रतिनिधि अस्प्ताल पुगेका थिए । डा. बसौला अस्पतालमा नभेटिएपछि हामीले फोन सम्पर्क खोज्यौं, फोन अफ भएपछि अस्पतालकै कर्मचारीले नेपाल बाहिर रहेको जानकारी दिए । अस्पताल स्राेतका अनुसार डा. बसाैला जापानमा भ्रमणमा रहेका छन् ।
कान्ति बाल अस्पतालमा ठूलो भ्रष्टाचारमा मुछिएर विवादित बनेका डा. बसौला शुक्रराज पनि डुबाउन लागेको अस्पतालकै कर्मचारी बताउँछन् । पटकपटक भ्रष्टाचार काण्डमा विवादित डा.बसौला यसअघि सरुवा भएको १५ दिनमै पुनः शुक्रराजमै फर्किएका थिए । तत्कालिन स्वास्थ्यमन्त्री प्रदिप यादवलाई मोटो रकम बुझाएर हाजिर भएर पुनः निर्देशककै रुपमा फर्किएकाे अस्पतालदेखि मन्त्रालयसम्म चर्चा चलेको थियो ।
डा.बसौला कान्तिमा अझैं लामो समयसम्म निर्देशक बनेको भए धरासायी बनिसक्ने एक कर्मचारीले बताए । बसौला हटेपछि कान्ति अस्पताल लयमा फर्किन लागेको उनको दाबी छ ।
डा. बसाैलाका काण्डमा नियामक निकायले छानबिन र निगरानी नगरे शुक्रराज ट्रापिकल अस्पताल तथा सरुवा रोग अस्पतालमा भ्रष्टाचार संस्थागत हुँदै जाने र अस्पताल थला पर्ने चिन्ता थपेको कर्मचारी बताउँछन् ।
कान्ति बाल अस्पतालमा विकाश लम्सालको मनपरीतन्त्र, निर्देश डा. बसौला किन मौन ?