काठमाडौं । आज सहिद दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । राणा शासनको अन्त्य गरी प्रजातन्त्रको लागि ज्यान गुमाएका योद्धाको सम्झनामा एक हप्तासम्म विभिन्न कार्यक्रम गरी सहिद दिवस मनाइन्छ ।
विक्रम संवत २००७ पछिदेखि नै प्रत्येक वर्ष माघ १६ गते शहीद दिवस मनाउने गरिएको छ । माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाउने घोषणा गरी विविध कार्यक्रम हुँदै आएको छ । २०१२ सालदेखि नै तत्कालिन काठमाडौं नगरपालिकाको संयोजकत्वमा प्रत्येक वर्ष माघ १६ गते शहीदको सम्झनामा दिवस मनाउन थालिएको हो ।
प्रजातन्त्रको माग गर्दा विसं १९९७ मा शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाडौंको टेकुस्थित पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवं दशरथ चन्दलाई माघ १५ गते शोभा भगवतीमा राणा शासकले मृत्युदण्ड दिएका थिए ।
शहीद दिवसका अवसरमा बुधबार बिहान शान्तिवाटिका रत्नपार्कदेखि शहीद स्मारक लैनचौरसम्म प्रभातफेरि कार्यक्रम आयोजना गरिएको छ । प्रधानमन्त्री, मन्त्री, सरकारका उच्च पदस्थ अधिकारी, जनप्रतिनिधि, सुरक्षा निकायको ब्याण्ड टोली र मार्चपास टोलीसहितको प्रभातफेरि शहीद स्मारक लैनचौर पुगी ज्ञातअज्ञात शहीदप्रति श्रद्धाञ्जली अर्पण गरिएको छ ।
यसैगरी, लखन थापादेखि पछिल्ला स्वतन्त्रताका आन्दोलनमा शहादत प्राप्त गर्ने शहीदको सम्झनामा मन्त्रिपरिषद्को विसं २०६४ जेठ ११ गतेको निर्णयअनुसार उपत्यकाको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वरमा निर्माण भइरहेको राष्ट्रिय शहीद स्मारकमा कार्यक्रमको तयारी भएको जनाइएको छ ।
सहिद दिवसको अबसरमा सरकारले देशभर सार्वजनिक बिदा दिएको छ ।