नेपाली काँग्रेसभित्र नयाँ नेतृत्वका लागि दौडधूप सुरु भएको छ । नेतृत्वका आकांक्षीहरु देश दौडाहामा सक्रिय देखिएकोले पार्टीभित्र चुनावी अड्कलबाजी पनि सुरु भएका छन् । प्रत्येक चार वर्षमा हुनुपर्ने नयाँ नेतृत्व चयन गर्ने १५ औं महाधिवेशन आउन करिव एक वर्ष बाँकी छ । विधानमा एकदेखि डेढ वर्ष समय थप्न सकिने व्यवस्था पनि रहेको छ । सभापति शेरबहादुर देउवाले दुई कार्यकाल पूरा गर्न लागेकोले तीन कार्यकाल नेतृत्व लिन विधान संशोधन गर्नुपर्ने हुन्छ । उमेर र सक्रियताका कारण दोहो¥याउने सम्भावना न्यून रहेकोले देउवाले निकटस्थहरुसँग पार्टी नेतृत्वका लागि मार्गप्रशस्त गरिदिने मनसाय व्यक्त गर्न थालेका छन् । आस गर्नेहरु थुप्रै भएपनि कसैलाई नेतृत्व सुम्पिने आश्वासन दिएका छैनन् । तर उनको उत्तराधिकारी को हो त ? देउवा नजिकको स्रोत भन्छ, यो भने अझै पनि टुंगो लागेको छैन । देउवाले आफू अहिलै नै केही नबोल्ने बताइरहेका छन् । देउवा पक्षबाट डा. शशांक कोइराला, डा. प्रकाशशरण महत र पूर्णबहादुर खड्का मध्ये एकको सम्भावना छ ।
देउवा र कोइराला दुवैतर्फ आगामी नेतृत्वका लागि सभापतिका आकांक्षीहरुको संख्या बढ्ने देखिन्छ । पार्टीको नेतृत्व लिनका लागि डा. शशांक कोइराला, डा. शेखर कोइराला, डा.प्रकाशशरण महत, गगन थापा र पूर्णबहादुर खड्का गम्भीरतापूर्वक इच्छुक देखिन्छन् । यसअघिको चुनावमा सभापतिका उम्मेद्वार देउवाले करिव ६० प्रतिशत मत ल्याएर दोस्रो राउण्डमा जितेका थिए भने प्रतिस्पर्धी डा.शेखर कोइरालाले ४० प्रतिशत मत ल्याएका थिए । करिव ७ प्रतिशत मत ल्याएका अर्का प्रत्याशी प्रकाशमानसिंहले दोस्रो राउण्डमा देउवालाई सघाएका थिए । यसले गर्दा देउवाको जीत निश्चित भएको थियो । देउवासँगको उनको निकटता कायम रहेको बताइन्छ । श्रीमतीले काठमाडौंको मेयरमा टिकट पाएको र अहिले उपप्रधानमन्त्रीसहित सरकारमा कांग्रेसको नेतृत्व गर्दै कार्यभार सम्हालिरहेका छन् । निकट अनुसार स्वस्थ्य स्थिति कमजोर रहेको भन्दै उनले यसपटक सभापतिमा चाहना नरहेको तर आफ्नो हैसियत पार्टीमा राम्रै हुनुपर्ने माग राखिरहेका छन् । देउवालाई सहयोग गर्ने पूर्व उपसभापति विमलेन्द्र निधि, प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौला देउवातिरै रहेकोले यो पक्ष अहिले पनि बलियो देखिन्छ ।
डा.कोइराला अघिल्लो पटक आफ्नो पक्षबाट सभापतिको एक्लो उम्मेद्वार थिए । तर यसपटक महामन्त्री गगन थापा सभापतिमा कसैलाई नछोड्नेगरी तयारी गरिरहेका छन् । अर्का महामन्त्री विश्वप्रकाश शर्मा र हालका स्वास्थ्यमन्त्री प्रदीप पौडेलको सहयोगमा सभापतिमा चुनाव लड्ने तयारी गरिरहेका थापा पछिल्लो समय सभापति देउवासँग पनि नजिकिन थालेको चर्चा छ । युवाहरुको धडकनका रुपमा रहेका थापा खरो प्रखर वक्ता पनि हुन् र पार्टीबाहिर आम जनतामा पनि निकै लोकप्रिय छन् । तर पछिल्लो समय महामन्त्रीको रुपमा उनको भूमिकालाई लिएर पार्टीभित्र आलोचना पनि हुने गरेको छ । आफ्नो गुटबाट बाहिर ननिस्किएको, महामन्त्री भएर पनि संगठन निर्माणमा देशभर सक्रिय नभएको, देउवाको विरोध मात्र गरिरहेको र कांग्रेस महामन्त्री भएर पनि विद्यार्थी नेताको जस्तो भूमिकामा मात्र रहेको भनी आलोचना हुने गरेको छ । अघिल्लो पटक संसदीय दलको नेतृत्व लिने प्रयास गरेका थापा देउवाजस्तै बोलेको कुरा सकेसम्म पूरा गर्नैपर्छ भन्ने मान्यता राख्छन् । त्यसैले सभापतिको उम्मेद्वार घोषणा गरिसकेका उनी आगामी चुनावमा चुनाव लड्ने निश्चित जस्तै छ ।
यता उमेर बढ्दै गएको, भाषणमा तर्क देखिएपनि विषयवस्तुको गहिराईमा पुग्ने क्षमताको अभाव, भाइको असहयोग र एकपटक मात्र सभापतिमा उठ्ने बचन दिएका डा शेखर पहिलाभन्दा कमजोर देखिएका छन् । प्रविधिमा विकास र सामाजिक सञ्जालको रुपान्तरणका कारण इतिहास एवं कोइराला परिवारको लिगेसी भन्ने शब्दले त्यति अर्थ राख्न छोडिसकेको छ । यस्तो बदलिएको आधुनिक समाजमा दक्षिणको कृपा भएपनि डा.शेखरलाई अगाडि आउन पहिलाभन्दा निकै सकस देखिन्छ ।
डा. शशांक बीपी पुत्र भएपनि डा. शेखरलाई नेतृत्वमा आउन नदिन अघिल्लो अधिवेशनदेखि नै देउवा नजिक पुगेका छन् । उनी भरसक आफै आउने नत्र शेखरलाई रोक्न सक्ने उम्मेद्वारको पक्षमा लाग्ने नजिकका स्रोतहरु बताउँछन् । हालै जिल्ला भ्रमणमा निस्किएका उनले यसपटक सभापतिमा चुनाव लड्ने उद्घोष गरिसकेका छन् । तर डा. शेखरलाई हराउन लाग्ने उनलाई पनि दाईले मद्दत गर्नुपर्ने औचित्य देखिदैन । कोइराला परिवार एक भैहाल्नेछन् भनेर धेरैले लख काटेपनि गत अधिवेशनमा एकले अर्कोलाई धोका दिएको छरपस्ट देखेका कार्यकर्तालाई उनीहरुको दुस्मनीको गहिराई निकै विकराल रहेको बुझ्न कठिन छैन । देउवा समूहबाट डा शशांक सभापतिको उम्मेद्वार बन्ने संभावना त छ तर उनको रसिक तर निष्कृय जीवन, महामन्त्रीमा निर्वाह गरेको कमजोर भूमिका देखेका कार्यकर्ताहरु कांग्रेसप्रति चौतर्फी आक्रमण भैरहेको र चुनौती आइरहेको पछिल्लो विरोधी समाजमा बलियो नेतृत्वको चाहना राख्छन् । यसका लागि उनीहरुले दबाब सिर्जना गर्नेछन् र डा. शशांकलाई पछि हट्न बाध्य पार्नेछन् । यस्तो अवस्थामा उनी दाई शेखरलाई हराउन सक्ने उम्मेद्वारको खोजीमा लाग्नेछन् भन्नेहरु धेरै छन् ।
यस्तो अवस्थामा देउवा समूहमा विसं २०३६ देखि एकार्काबीच टकराव गर्दै मिल्दै आएका उपसभापति पूर्णबहादुर खड्का र प्रवक्ता डा प्रकाशशरण महतबीच कसलाई अगािड बढाउने भन्ने असमञ्जसमा पर्न सक्छन् देउवा । केही समय अगाडिदेखि देउवासँग केही दुरी बढाएका खड्का उनको उत्तराधिकारी आफै हुनुपर्ने, कृष्णप्रसाद भट्टराईको समूहको नेतृत्व आफूले गरिरहेको बताइरहेका छन् र देउवा त पछि आफ्नो समूहमा जोडिन आएको बताउँदै हिडिरहेका छन् । साथै देउवाले पार्टी उपसभापति भएको र आफ्नै क्षेत्रको भएकोले पूर्णबहादुर खड्कालाई अगाडि बढाउन सक्ने एकथरी विश्लेषकहरुको अनुमान रहेको छ । तर नेतृत्व गरिहाल्ने गरी उनको व्यक्तित्व निर्माण नभएको पार्टीबृतमा चर्चा छ ।
खड्का समूहले डा महतलाई महामन्त्रीमा असहयोग गरेपछि दुखित भएका देउवा फेरि पछिल्लो समय चाहि डा.महतलाई अगाडि बढाउन थालेको जस्तो देखिन्छ । अघिल्लो सरकारमा खड्काको तीब्र चाहनाका बावजूद सभापति देउवाले प्रधानमन्त्रीमा प्रचण्डलाई सहयोग गरी डा. महतलाई अर्थमन्त्री बनाउन लगाएका थिए । थप उनी डा.आरजुलाई पनि महामन्त्रीमा ल्याउने मनस्थितिमा देखिन्छन् । यसरी हेर्दा देउवाको एक्का विश्वासपात्र डा.महतले नेतृत्व हत्याउने अनुमान पनि गर्न थालेका छन् र पछिल्लो समय देशव्यापीरुपमा आफ्नो सक्रियता बढाएका डा महतले देउवाबाट यो संकेत पाएको विश्लेषण कांग्रेस वृत्तमा हुन थालेको छ ।
सहोदर दाई डा.रामशरण महतका कारण डा. प्रकाशशरणको व्यक्तित्व ओझेलमा परेको तर पछिल्लो पटक आफ्नो राजनीतिलाई नै दाउमा राखेर जथाभावी राज्यकोष दुरुपयोग गर्न चाहने तत्कालीन सरकार प्रमुख प्रचण्डलाई रोक्ने, दाई महतले अघि सारेका आर्थिक नीति तथा सुधारका कार्यक्रमहरुलाई अगाडि बढाएर अर्थमन्त्रालयको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरेपछिको प्रकाशशरणको व्यक्तित्वको उचाई बढेको देखिन्छ । यसले डा महतलाई नेतृत्वमा आउन हौस्याएको मात्र नभै देउवाको थप विश्वास जित्ने अवसर पनि दिलाएको जस्तो देखिन्छ । पढेलेखेका विद्वान भएको र अन्तर्राष्ट्रिय सम्बन्ध तथा पछिल्लो समय देशभित्रको सांगठानिक अनुकुलता बढाउँदै लगेका डा. महत कांगे्रसमा पुरानो र नयाँ दुवै पुस्तालाई जोड्ने उपयुक्त पात्र भएको दाबी गरिरहेका छन् । उनले देशैभरीबाट अहिले निक्कै अनुकुल माहोल बनाउँदै लगेका छन । अहिले उनी मध्यपश्चिमका पहाडी जिल्लाका कार्यकर्ताहरुको घरदैलोमा पुगेका छन् । उता शेखर पूर्वतिर गएका छन् भने शशांक मध्य तराईतिर गएका छन् ।
नयाँ पुस्तामा असन्तुष्टि देखिएपनि कांग्रेसप्रति जनतामा ठूलो विश्वास र भरोसा रहेको छ । नेतृत्व परिवर्तन गरी नयाँ पुस्तामा समेत आशा जगाउने हो भने कांग्रेसले चमत्कारिक पुनरागमन गर्न सक्छ र जनतामा छाएको असन्तुष्टिलाई चिर्न सक्छ । विशेषगरी ठूला राजनीतिक दलहरु कांग्रेस र एमालेलाई सुशासन दिन नसकेको, अपेक्षाकृत आर्थिक विकास गर्न नसकेको भनेर आलोचना भैरहेको छ । संघीयतामा गइसकेपछि अझ उनीहरुको विरोध तीब्र बन्दै गएको छ । तथापि लामो समयदेखि जनतामा अमिट छाप छोडेका यी दुई दलले नै केही आँट गरे चमत्कारिक विकास गर्न सक्छन् भन्ने जनविश्वास पनि छ ।
त्यसैले ठूला दलमध्येको एक कांग्रेसको नेतृत्वप्रति कार्यकर्ताबीच मात्र नभै जनतामा पनि चर्चा परिचर्चा हुने गरेको छ । नेतृत्वमा केही सुधार, जनताको अपेक्षा अनुसारको आर्थिक विकास, सुशासन जस्ता पक्षमा ध्यान दिने हो भने फेरि यी दलहरुलाई जनताले विश्वास गर्ने वातावरण बन्नेछ । संयोगले यी दुई ठूला दलहरुलाई ४६, ६२।६३, ७२ र अहिले एकैठाउँमा ल्याएर जनताको अपेक्षा पूरा गर्ने अवसर उपलब्ध गराएको पनि छ । अन्य पार्टीमा भन्दा विभिन्न तहका नेताको संख्यात्मक तथा गुणात्मक व्यक्तित्व राम्रो भएकोले कांग्रेसले मिलाप र एकताको सन्देश दिन आवश्यक छ ।