काठमाडौं । रिक्त रहेको कीर्तिपुर नगरपालिकाको प्रमुख र वडाअध्यक्षमा उम्मेदवारी दर्ता सम्पन्न भएको छ । नेकपा (माओवादी केन्द्र)बाट प्रा.डा. शिवशरण महर्जनले मेयरमा उम्मेदवारी दिएका छन् ।
त्यसैगरी वडा नं. ४ मा माओवादीबाटै इन्जिनियर नारायण विष्टले पनि उम्मेदवारी दर्ता गरेका छन् । वडा नं. १ मा भने माओवादीले जनता समाजवादीका उम्मेदवारलाई समर्थन गर्ने भएको छ ।
जसपाले सरल गोपाल महर्जनलाई उम्मेदवार बनाएको छ । माओवादी केन्द्र र जसपाको कीर्तिपुर नगर समिति स्तरीय तालमेल भएको छ । जसपाका उम्मेदवारले पनि माओवादीकै चुनाव चिन्हमा चुनाव लड्ने सहमति पनि भएको छ ।
यसअघि नेकपा एकीकृत समाजवादीले पनि कीर्तिपुरमा माओवादी केन्द्रका उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको थियो ।
त्यसैगरी नेकपा एमालेले मेयरमा सुरेन्द्र मानन्धरलाई उम्मेदवार बनाएको छ । वडा नं.१ को वडाध्यक्षका लागि हर्ष महर्जन र वडा नम्बर ४ का लागि बद्री बुढाथोकीले उम्मेदवारी दर्ता गरेका हुन् ।
नेपाली कांग्रेसबाट कृष्णमान डंगोलले उम्मेदवारी दर्ता गरेका छन् ।
यस्तै कीर्तिपुर नगरपालिकाको मेयर पदका लागि नेपाल मजदुर किसान पार्टीका श्रीकृष्ण महर्जनले समेत उम्मेदवारी दर्ता गराएका छन् ।
यस्तै नेमकिपाको तर्फबाट वडा नम्बर १ मा कृष्णप्रसाद महर्जन र वडा नम्बर ४ मा महेश्वर सुवेदीले मनोनयन दर्ता गराएका छन । साथै राष्ट्रिय प्रजातन्त्र पार्टीले समेत मेयर र २ वडाध्यक्षमा उम्मेदवारी दिएको छ ।
निर्वाचन अधिकृतको कार्यालय पुगेर मेयरमा ध्रुव महर्जनले उम्मेदवारी दर्ता गराए । त्यस्तै वडा नम्बर १ मा सुरेन्द्रप्रसाद उप्रेती र ४ को अध्यक्षमा विजेश बस्नेतले मनोनयन दर्ता गराएका छन् ।
यस्तै मंसिर १६ को स्थानीय तह उपचुनावको लागि कीर्तिपुर नगरपालिकाको मेयरमा तेस्रोलिंगी दीपक महर्जन (हनि) र वडाध्यक्षमा राजीव महर्जन (मौनी) ले समेत मनोनयन दर्ता गराएका छन् । उनीहरूलाई उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल (जसपा) ले टिकट दिएको हो ।
यौनिक तथा लैङ्गिक समुदायको अधिकारका लागि वकालत गर्दै आएको मायाको पहिचान नेपालको पहलमा हनिलाई मेयर र मौनीलाई ४ नम्बर वडाध्यक्षको उम्मेदवार बनाइएको हो । राजनीतिमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक समुदायको सहभागिताका लागि उनीहरूलाई अघि सारिएको जसपाले जनाएको छ ।
यस्तै कीर्तिपुर नगरपालिकाको प्रमुख (मेयर) पदमा स्वतन्त्र उम्मेदवार राजमान महर्जन ‘मानव’ ले पनि मनोनयन दर्ता गराएका छन् ।