काठमाडौं । डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपति निर्वाचित भएपछि इरानले पहिलो प्रतिक्रिया दिएको छ । बुधबार सरकारी टिभी च्यानल आईआईबीमा इरान सरकारका प्रवक्ता फतेमेह मोहजेरानीले अमेरिकी राष्ट्रपतिको चुनावले आफूहरुको लागि केही अर्थ नभएको बताएका छन् ।
मोहजेरानीले ह्वाइट हाउसमा जोसुकै बसे पनि आफ्नो जनताको जीवनमा कुनै असर नगर्ने समेत बताए । उनले भने, ‘अमेरिकी राष्ट्रपतिको चुनावले हाम्रो लागि केही अर्थ राख्दैन । अमेरिका र इरानमा सरकार परिवर्तनले खासै धेरै परिवर्तन हुनेवाला छैन । ह्वाइट हाउसमा जोसुकै बसे पनि यसले हाम्रा जनताको जीवनमा कुनै असर गर्दैन ।’
सन् २०१६ मा आफ्नो पहिलो कार्यकालमा ट्रम्पले अमेरिकासँगको इरानको आणविक सम्झौता अन्त्य गरेका थिए । इरान र अमेरिकाबिच बाराक ओबामाको कार्यकालमा परमाणु सम्झौता भएको थियो ।
ह्वाइट हाउसमा ट्रम्पको पुनरागमन पछि इरानमाथि लगाइएको प्रतिबन्धलाई अझ बढाउने शंका इरानले गरेको छ ।
रुसी फेडेरेसनसँग निकट सम्बन्ध भएका कारण इरानमाथि हुन सक्ने सम्भावित प्रतिवन्ध तत्काल नलाग्ने विश्लेषकहरुको भनाइ रहेको छ । ट्रम्पले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँग आफ्नो निकट सम्बन्ध भएकोले मध्यपूर्वमा जारी युद्ध राेक्न चुनावी नारा बनाएका थिए ।
ट्रम्पको यो चुनावी नारा कार्यान्वयन गर्छन् वा युद्धलाई नै निरन्तरता दिन्छन् अब केही दिनमा संकेत देखा पर्नेछन् ।