काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध पक्राउ जारी भएको छ । सरकारको निर्देशनमा प्रहरीले अदालतबाट लामिछानेलाई पक्राउ गर्न अनुमति लिएको छ ।
जिल्ला प्रहरी कार्यालय, कास्कीले सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि लामिछानेलाई हिरासतमा राख्न अदालतले अनुमति दिएको प्रहरी अधिकारीले बताएका छन् । लामिछानोलई काठमाडौंबाट पक्राउ गर्ने तयारी प्रहरीले गरेको छ । पक्राउ गर्न प्रहरीले विशेष टोली परिचालन गरेको बताइएको छ ।
पोखराको सूर्यदर्शनसमेतका ७ सहकारीबाट ६५ करोड रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा गएको अनुसन्धानबाट खुलेको छ । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा कास्की प्रहरीको प्रतिवेदनका आधारमा १६ असोज २०८० मै गितेन्द्रबाबु (जिबी) राई, कुमार रम्तेलसहित १९ जनाविरुद्ध मुद्दा दर्ता भएको थियो । त्यसमा एक अर्ब ११ करोड रुपैयाँ बिगो मागदाबी गरिएको थियो ।
यसैबीच रास्वपाले पक्राउविरुद्ध कार्यकर्तालाई सडकमा उतार्ने तयारी पनि गरेको छ । रास्वपाले कार्यकर्तालाई पार्टी कार्यालयमा जम्मा हुन भनेको छ । त्यस्तै, पोखरामा पनि पक्राउ विरुद्ध रास्वपाले सडक तताउने तयारी गरेको छ ।