आज :

नख्खु खोलामा सरकारले नसकेकाे उद्दार गरेका चणिकलाललाई प्रचण्डले गरे सम्मान

  • अनलाइन डबली

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नख्खुखोलाले बगाएका दुई जनाको उद्धार गर्ने ‘साहसी युवा’ चणिकलाल तामाङलाई सम्मान गरेका छन् ।

उनले आफ्नै निवास खुमलटारमा बोलाएर तामाङलाई सम्मान गरेका हुन् । तामाङले शनिवार ललितपुर महानगरपालिका २५ सुगम टोलस्थित नख्खु खोलाले बगाएका रौतहटका ४३ वर्षीय राजु साह र उनकी छोरी ६ वर्षीया मेघनालाई उद्धार गरेर बचाएका थिए ।

बाढी आएपछि उद्दारको गुहार गर्दै टहराकाे छतमा लामो समय बिताएकाहरुलाई समेत सरकारले उद्दार गर्न सकेन । गृहमन्त्री रमेश लेखकले भिजिबिलिटीको बहाना गर्दै उद्दार गर्न नसकेकोमा दुःख व्यक्त गरेका व्यक्तिहरुलाई तामाङले बचाएका थिए ।

लामाे समयसम्म टहराको छानामाथि चढेर गुहार मागिरहेका चार जनालाई सरकारी निकायले उद्धार गर्न नसकेपछि उनीहरु टहरासँगै बगेका थिए ।

खोलाले बगाएर झण्डै पाँच सय मिटर तल पुर्याएपछि तामाङले उर्लदो भेलमा हाम फालेर दुई जनाको उद्धार गरेका थिए । उद्धार गरिएका दुबै जनाको हाल पाटन अस्पतालमा उपचार भइरहेको छ ।

‘साहसी युवा’ तामाङलाई सम्मान गर्दै अध्यक्ष प्रचण्डले सरकारले गर्न नसकेको काम गरेर दुई जनालाई नयाँ जीवन दिएकोमा बधाई तथा धन्यवाद दिए । संकटको बेला नै बहादुरहरुको जन्म हुने भन्दै उनले तामाङलाई ‘साहसी युवा’को रुपमा सम्मान गरिएको बताए । आफूले यो घटनालाई हिजोदेखि नजिकबाट हेरिरहेको र अहिले तामाङको देशबिदेशमा चर्चा भइरहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले तामाङ आफ्नो पार्टीकै युवा संगठनमा आबद्ध रहेको थाहा पाउँदा झनै खुशी लागेको बताए ।

काभ्रेको तेमाल गाउँपालिका ९ चोकटार घर भएका तामाङ माओवादी केन्द्रनिकट सहिद परिवारका सदस्य हुन् । उनका दाई तत्कालीन जनयुक्त सेनाका कमाण्डर चन्द्र तामाङले ‘शुक्र’ को जनयुद्धका क्रममा सर्लाहीमा सहादत प्राप्त गरेका थिए ।

सो क्रममा साहसी युवा तामाङले उद्धार गरेर दुई जनाको जीवन बचाउन पाएकोमा खुशी लागेको बताए । आफू विहान खोला हेर्न आएको बेलामा मान्छे बगेको देखेपछि तत्काल हाम फालेर उद्धारमा लागेको बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal