
नियतिले कहिलेकाहीं अकल्पनीय मोड दिदोरहेछ। दिउँसोको समय, निर्धारित समय तालिका भन्दा झन्डै दुइघन्टा ढिला । श्री एअरलाइन्सको SHA 123 नम्बरको फ्लाइटले हामीलाई काठमाडौंबाट सुर्खेत पुर्याउने थियो। तर नियतिको खेल यस्तो रह्यो कि हामी सुर्खेतको आकाशमा पुगेर पनि सुर्खेत पुग्न सकेनौं।
३: १५ मा उड्नुपर्ने प्लेन ५:०८ बजे उड्यो। हामी यात्रुहरू बीच सामान्य गफगाफ हुँदै गर्दा विमानले गति लियो। सुरुवाती यात्रा सहज लाग्यो। तर जब सुर्खेतको आकाशमा पुगेका थियौं, अचानक विमान परिचालिकाको आवाज आयो, “विमानमा सामान्य खराबी देखिएको छ, क्याप्टेनले जोखिम लिन चाहनु भएन, त्यसैले हामी फेरि काठमाडौंतिर फर्कंदैछौं।” यात्रुहरू एक-अर्कालाई हेर्न थाले। अनेक प्रश्नहरू मनमा उब्जिए। आखिर के भयो ?
प्रेस सेन्टर नेपालका साथीहरू रत्न कार्की, लोकेन्द्र पौडेल, अमर सुनार र उद्योगि पूर्णप्रसाद पान्डेसँगै यात्रा गरिरहेका थियौं। अगाडिको सिटमा नेकपा (माओवादी केन्द्र) कर्णालीका सह-इन्चार्ज टेक बहादुर बस्नेत हुनुहुन्थ्यो। पाइलट सौरभ मिश्रले काठमाडौ फर्किने निर्णय लिईसकेका थिए। हाम्रो मनमा आशंका थियो तर हामी पाइलटको निर्णयमा भर पर्यौं।
प्लेनमा ५९ जना यात्रु, २ जना क्याप्टेन र २ जना एयर होस्टेस सहित ६३ जना थियौं। जब विमान काठमाडौंतिर मोडियो, मनमा अनेक लहर चले। सुरक्षाको कुरा सोच्दा एकछिन राहत लाग्थ्यो, तर यात्राको अन्योलता पनि उत्तिकै थियो। विमानभित्र कुइँअ..कुइँअ.. आवाज सुनियो। हामीले एयर होस्टेससँग कुरा गर्यौं। उनीहरूको संयमता र धैर्यता देखेर मनमा केही शान्ति मिल्थ्यो।
मेरो छोरा सुभले घरमा आशा गरिरहेको थियो, बाबा अब आउने छन् भनेर। जीवनसंगिनी पशुपता थापा एयरपोर्ट लिन आउँदै थिइन्। म सन्देश पठाउँदै थिएँ – “पुग्न अझै एक घण्टा लाग्छ।” तर जब विमान मोडियो, मेरो सन्देश पनि मोडियो “म फेरि काठमाडौंतिर फर्कंदैछु।” उनी एयरपोर्टमा बसिरहेकी थिइन्, म भने पुनः काठमाडौंमा अवतरण गर्दै थिएँ।
नेपालि आकाशको यात्रा सुरक्षित छैन, न त सडकहरू नै सुरक्षित छन्। यात्रुहरूमा मिली-जुली भावनाहरू थिए। तर जब विमान सुरक्षित रूपमा काठमाडौ अवतरण गर्यो, खुशीको सीमा रहेन। सबैले राहतको सास लिए।
तर त्यो राहतको क्षण एक क्षणमै आश्चर्यमा परिणत भयो। जब हामी विमानबाट ओर्लियौं, एयरपोर्टको दृश्य अचम्मको थियो,आर्मी, प्रहरी, दमकल, र एम्बुलेन्सहरू तयारी अवस्थामा देख्दा हामी झनै स्तब्ध भयौं। त्यो क्षणले हाम्रो यात्रा केवल प्राविधिक गडबडीमा सीमित थिएन, यसले कति ठूलो संवेदनशीलता सिर्जना गर्यो भन्ने पुष्टि गर्यो।
पाइलट सौरभ मिश्र, जसले जोखिम मोल्नुभएन र सबैलाई सुरक्षित अवतरण गराउनुभयो, उहाँ साँच्चै धन्यवादका पात्र हुनुहुन्छ।
यस यात्राले एउटा तीतो यथार्थ देखायो। हामी केवल विमान चढ्ने यात्रु थियौं, तर हाम्रो नियति आकाशमै लटपटियो। नेपाली हवाई यात्राको अनिश्चितता अझै पनि सुरक्षित महसुस गराउने अवस्थामा छैन। तर सुरक्षित अवतरण भने जीवनको सर्वश्रेष्ठ उपहार हो।