
काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक आज बस्दैछ । पछिल्लो समय गठबन्धनभित्र खटपट भएका समाचारहरू सार्वजनिक भइरहेका बेला गठबन्धनको बैठक बैठक बस्न लागेको हो ।
नेपाली कांग्रेसको महासमितिको बैठकपछि सत्तारुढ गठबन्धनमा थप चिसोपना आएको चर्चाका बीच बस्न लागेको गठबन्धनको बैठकलाई अर्थपूर्ण रूपमा हेरिएको छ । कांग्रेस महासमितिको बैठकमा उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापाले चुनावी गठबन्धन नगर्ने प्रस्ताव महासचमिति बैठकमा पेश गरेसँगै गठबन्धनबारे चर्चा सुरु भएको थियो । तर नेताहरुले गठबन्धन तलमाथि नहुने बताइरहेका छन् ।
उपसभापति खड्काले माओवादीको सशस्त्र युद्धलाई औचित्यहीन टिप्पणी गरेका थिए भने महामन्त्री थापाले निर्वाचनमा गठबन्धन नगर्ने उल्लेख गरेका थिए । यसैगरी कांग्रेसभित्र धर्म निरपेक्षताको विरुद्धमा पनि माहौल बढ्दै गएकाले यसबाट माओवादी झनै झस्किएको छ ।
पछिल्लो समय माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले कांग्रेससँग गम्भीर छलफल गर्ने प्रतिक्रिया दिएका छन् । सोमबारको गठबन्धन बैठकको तयारीका लागि माओवादी र कांग्रेसले आ आफ्नै तयारी पनि गरेको बुझिएको छ ।
कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पुर्णबहादुर खड्का र महामन्त्री गगन थापाकाबीचमा छलफल भएको छ भने प्रधानमन्त्री प्रचण्डले पनि पार्टीमा गम्भीर छलफल गरेका छन् ।
अहिले कांग्रेस सभापति देउवाले गठबन्धनको बैठकबाट माओवादीलाई थप विश्वासमा ल्याउने बरु मन्त्रिपरिषद् पुनर्गठनमा साथ दिने तयारीका साथ छलफल अघि बढाएको कांग्रेसकै नेताहरूले बताउने गरेका छन् ।
स्रोतका अनुसार आजको बैठकमा मन्त्रिमण्डल पुनर्गठन र राष्ट्रियसभा अध्यक्षको चुनावबारे छलफल हुने नेताहरुले बताएका छन् ।