
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवलाय बैठक आज बस्दैछ । दुई पटक स्थगित भएको बैठक आज दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो ।
राजदूत नियुक्त पछि दुबै अध्यक्षबीच मनमुटाबका कारण बैठक सर्दै आएको थियो । सोमबार प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्डबीच बैठकलगायतका विषयमा छलफल भएको थियो । छलफलबीच आज ४ बजे बैठक बस्ने सहमति भएको थियो ।
बैठकमा मन्त्रिमण्डल पुनर्गठन र सरकारले गरेको पछिल्लो रानीतिक नियुक्तिका विषयमा छलफल हुने जनाइएको छ। त्यस्तै पार्टी एकता प्रक्रियाका बाँकी कामबारे पनि छलफल हुने बताइएको छ ।
सरकारले गत बिहिबार मुख्यसचिव नियुक्ति र विभिन्न ३ देशमा राजदुत सिफारिस गरेपछि अध्यक्ष दाहाल र उहाँ निकट नेताहरु असन्तुष्ट देखिएका छन् ।
सचिवालय बैठक शनिवार नै बोलाइएको भएपनि आवश्यक तयारी नपुगेको भन्दै आइतबारका लागि सारिएको थियो । प्रधानमन्त्रीका ४ जना सल्लाहकारसहित सुरक्षा दलका सदस्यहरुमा कोरोना संक्रमण देखिएपछि बैठक स्थगित भएको थियो ।