
काठमाडौं । प्रधानमन्त्री प्रचण्ड आजबाट मित्र राष्ट्र चीनको औपचारिक भ्रमणमा जाँदैछन् । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन संयुक्त राज्य अमेरिकाको न्यूयोर्कमा रहेका प्रधानमन्त्री प्रचण्ड उतैबाट चीनको हाङजाओ प्रस्थान गर्ने प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
चिनियाँ समकक्षी ली छ्याङको निमन्त्रणामा प्रधानमन्त्री प्रचण्ड आज न्युयोर्कको स्थानीय समयअनुसार राति साढे १ बजेको फ्लाइटबाट चीन जान लागेका छन् ।
प्रधानमन्त्री प्रचण्डको भ्रमणको औपचारिक कार्यसूची परराष्ट्र मन्त्रालयले बिहीबार नै सार्वजनिक गरिसकेको छ ।
भ्रमण कार्यसूची अनुसार प्रधानमन्त्री प्रचण्ड र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच शनिबार भेट हुने तय भएको छ । १९ औं एसियाली खेलकुदको उदघाटन समारोहमा सहभागी हुन सी पनि हाङजाओमा रहने र प्रधानमन्त्री प्रचण्ड न्यूयोर्कबाट त्यहीँ पुग्ने छन् ।
प्रधानमन्त्री प्रचण्डलाई शनिबार बिहान १० बजे हाङजाओस्थित विमानस्थलमा चीनका विदेशमन्त्री वाङ यीले स्वागत गर्ने तयारी भइरहेको छ त्यसपछि दिउँसो साढे १२ बजे प्रचण्ड र सीबीच पहिलो भेट हुनेछ । सो क्रममा उनीहरूले एउटा रिसोर्टमा सँगै लञ्च गर्नेछन् । त्यसपछि शनिबार अपराह्न ४ बजे प्रचण्ड र राष्ट्रपति सीबीच द्विपक्षीय भेटवार्ता हुनेछ ।
उक्त औपचारिक भेटवार्ता सम्पन्न भएसँगै प्रचण्ड राति ८ बजे उदघाटन हुने १९ औँ एसिन खेलकुद समारोहमा सहभागी हुनेछन् ।
त्यसको अर्को दिन आइतबार मध्याह्न १२ बजे प्रचण्ड बेइजिङ पुग्ने कार्यसूची छ । बेइजिङ विमानस्थलमा उनलाई चिनियाँ मन्त्रीले स्वागत गर्ने भनिएको छ ।
प्रधानमन्त्री प्रचण्ड र समकक्षी छ्याङबीच औपचारिक द्विपक्षीय भेट सोमबार बिहान १० बजेका लागि तय भएको छ । उनलाई तियानमेन चोकस्थित ‘ग्रेट हल अफ दि पिपुल’मा स्वागत कार्यक्रम राखिएको छ भने चिनियाँ जनमुक्ति सेनाले प्रचण्डलाई ‘गार्ड अफ अनर’ प्रदान गर्ने कार्यक्रम छ ।
प्रधानमन्त्री प्रचण्ड र समकक्षी लीबीच हुने औपचारिक भेटवार्ताका लागि करिब २ घण्टाको समय निर्धारण गरिएको छ । भेटमा विभिन्न सहमतिपत्रमा हस्ताक्षर हुने बताइएको छ ।