काठमाडौं । टीआरसी विधेयक कानून, न्याय तथा मानव अधिकार समितिबाट पारित भएको छ । बिहीबार सिंहदरबार बसेको समितिको बैठकले संक्रमणकालीन न्यायसँग सम्बन्धित उक्त विधेयक समितिले सर्वसम्मत पारित गरेको हो ।
बुधबार उक्त विधेयकमा सहमति जुटाउन बनेको कार्यदलले शिर्ष नेताहरुलाई प्रतिवेदन बुझाएको थियो ।
बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ लाई संशोधन गर्न बनेको विधेयक समितिमा छलफलमा रहेको थियो ।
विधेयकमा सन्दर्भमा देखिएका विवादहरूलाई राजनीतिक दलले कार्यदल बनाएर सहमति जुटाएका थिए ।बैठकमा समिति सभापति विमला सुवेदीले प्रतिवेदनको मस्यौदालाई प्रस्तुत गरिएको रूपमा नै पारित भएको घोषणा गरिन् । समितिबाट पारित भएको विधेयकलाई संसदको अर्को बैठकमा पेश गर्ने गरी पत्राचार गर्ने सुवेदीले जानकारी दिइन् ।
यसअघिको प्रचण्ड सरकारले विधेयकमा सहमति नजुटाएका विषयमा सहमति जुटाउन कार्यदल गठन गरेको थियो । कार्यदलमा नेकपा माओवादी केन्द्रबाट प्रभाकर, नेपाली काँग्रेसबाट हालका गृहमन्त्री रमेश लेखक र नेकपा एमालेबाट महेश बर्तौला रहेका थिए । कार्यदलले सहमति जुटाएसँगै १८ वर्षपछि विधेयक अघि बढेको छ ।