
सुर्खेत ।
मध्यपश्चिम विश्वविद्यालयका प्राध्यापक, शिक्षक, कर्मचारीहरुले दुर्गम भत्ता पाउने भएका छन् । विश्वविद्यालयका प्राध्यापक, शिक्षक, कर्मचारीहरुलाई दुर्गम भत्ता उपलब्ध गराउन उच्च अदालत सुर्खेतले निवेदकको पक्षमा रिट जारी गरेसंगै उनीहरुले दुर्गम भत्ता पाउने बाटो खुलेको हो ।
रारा बहुमुखी क्याम्पस मुगुका प्राध्यापक, शिक्षक,कर्मचारीहरुले विश्वविद्यालयले आफूहरुलाई दुर्गमभत्ता नदिएको भन्दै २०८० चैत २५ गते उच्च अदालत सुर्खेतमा रिट दायर गरेका थिए । त्यसको भोलीपल्टै उच्च अदालत सुर्खेतले विश्वविद्यालयको नाममा १५ दिने लिखित जवाफ माग गरेको थियो ।
सो अनुसार विश्वविद्यालयले लिखित जवाफ पेश गरेपछि २०८१ असार ११ गते पेशी बहस पश्चात उच्च अदालत सुर्खेतले निवेदकको पक्षमा रिट जारी गर्यो ।
विश्वविद्यालयको शिक्षक, कर्मचारी नियमावलीको नियम ३८(५) मा नेपाल सरकारद्धारा वर्गिकृत विभिन्न जिल्लामा कार्यरत पदाधिकारी,शिक्षक तथा कर्मचारीले सरकारले तोके अनुसारको दुर्गम भत्ता पाउने व्यवस्था भएपनि लामो समयदेखि विश्वविद्यालयले दुर्गम भत्ता दिन अटेर गरेको थियो ।
अदालतको आदेशपछि दुर्गम भत्ता उपलब्ध गराउन विश्वविद्यालय बाध्य हुने अधिवक्ता सन्दिप कुमार शाहीले जानकारी दिए । रिट निवेदकका तर्फबाट अधिवक्ता सन्दिप कुमार शाही र विश्वविद्यालयका तर्फबाट कानूनी सल्लाहाकार अधिवक्ता भोजराज आचार्यले बहस गरेका थिए ।