आज :

पर्यटन मन्त्रीको पुत्ला दहन प्रकरणमा पक्राउ परेका लुम्बिनी बचाउ अभियानका संयोजक रिहा

  • अनलाइन डबली

राधेश्याम विश्वकर्मा –

रुपन्देही । पर्यटन मन्त्रीको पुत्ला दहन गरेको घटनालाई लिएर प्रहरीले लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरम खानलाई नियन्त्रणमा लिएर केही समयपछि रिहा गरेको छ । खानले आफूलाई राति नियन्त्रणमा लिइएको र बिहान प्रहरी अधिकारीहरुसँगको छलफलपछि छाडिएको बताएका छन् ।

खानका अनुसार उनी होटलतर्फ जाँदै गर्दा राति साढे १० बजे प्रसाद चोकबाट प्रहरीले नियन्त्रणमा लिएको थियो । आफूसँग पाहुना रहेकाले पछि कुरा गर्ने आग्रह गर्दागर्दै प्रहरीले जबर्जस्ती गाडीमा राखेर लुम्बिनी पुर्‍याएको उनको आरोप छ । त्यसपछि भीम अस्पतालमा सामान्य स्वास्थ्य परीक्षण गराएर आफूलाई थुनामा राखिएको उनले बताएका छन् ।

दिउसो राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद कन्हैया बनिया र तौफिक अहमद खानको रोहवरमा भाई फकरुद्दिन खाँनको जिम्ममा लगाई प्रहरीले छोडेको उनले बताए । छलफलका क्रममा प्रहरीले लुम्बिनी क्षेत्रमा सडक अवरोध गर्ने तथा पुत्ला दहन गर्ने गतिविधि नगरी शान्तिपूर्ण रूपमा आफ्ना माग राख्न सुझाव दिएको उनको भनाइ छ ।

पत्रकारहरुसँग आफ्नो धारणा सार्वजनिक गर्दै खानले लुम्बिनीको हकहित र विकासका लागि आफूहरुले लामो समयदेखि आवाज उठाउँदै आएको बताएका छन् । सरकारका कदम र लुम्बिनीप्रतिको बेवास्ताविरुद्ध विभिन्न चरणमा विरोध प्रदर्शन, पत्रकार सम्मेलन र सभा आयोजना गर्नुका साथै मन्त्रीहरुलाई भेटेर ज्ञापनपत्रसमेत बुझाइएको उनले बताए ।

मन्त्रीको पुत्ला दहनलाई उनले सरकारको कार्यशैलीप्रतिको असन्तुष्टि र आक्रोशको अभिव्यक्ति भएको बताएका छन् । लुम्बिनीको विकास, संरक्षण र स्थानीयको हितका सवालमा सरकार गम्भीर हुनुपर्ने उनको माग छ ।

संयोजक खानले आफूहरु कानुनी राज्यको सम्मान गर्ने बताउँदै लुम्बिनीवासीको हकहितका लागि अभियान जारी रहने स्पष्ट पारेका छन् ।

‘हामी भाग्ने मान्छे होइनौँ । मन्त्रीको पुत्ला जलाइएको हो र यसमा हामी पछि हट्दैनौँ । तर कानुनको सम्मान गर्दै शान्तिपूर्ण रुपमा आफ्ना माग राख्छौँ,’ उनले भने ।

उनले आफूलाई फोन गरेर बोलाइएको भए स्वेच्छाले उपस्थित हुनेसमेत बताएका छन् । लुम्बिनीको नाममा राजनीति बन्द गर्न र यस क्षेत्रलाई बुद्धमय बनाउन सरकार तथा सम्बन्धित निकायले रचनात्मक ढंगले काम गर्नुपर्ने उनको आग्रह छ ।

खाँनसँगै प्रहरीले सार्वजनिक स्थलमा उत्श्रृंखल गतिविधि गरि सार्वजनिक शान्ती सुव्यवस्थामा खलल पुर्‍याएको आरोपमा पक्राउ गरेको अर्का आरोपी वाजिउद्दिन मुसलमानलाई पनि रिहा गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal