काठमाडौँ । नेकपा एमालेले उपचुनावको लागि उम्मेदवारको टुंगो लगाएको छ । आइतबार बसेको सचिवालयको बैठकले इलाममा स्व. नेता सुवास नेम्वाङका कान्छा छोरा सुहाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ ।
त्यसैगरी बझाङ निर्वाचन क्षेत्र नम्बर १ (क) मा दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको एमाले उपमहासचिव प्रदिप ज्ञवालीले जानकारी दिए । भण्डारी एमालेका बझाङ अध्यक्ष समेत हुन् ।
इलाममा एमाले नेता नेम्वाङ र बझाङमा काँग्रेस नेता पृथ्वीबहादुर सिंहको निधन भएका कारण उपचुनाव हुन लागेको हो ।
निर्वाचन आयोगले रिक्त दुई क्षेत्रमा आगामी वैशाख १५ गते उपचुनाव घोषणा गरेको छ ।