
काठमाडौं । बाबुराम भट्टराईले नेतृत्व गरेको नेपाल समाजवादी पार्टी विभाजनको दिशामा अघि बढेको छ । नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराईले बोलाएको बैठक आधिकारिक नभएको भन्दै अर्का अध्यक्ष महिन्द्र राय यादव समूहले विज्ञप्ति जारी गरेको छ ।
अध्यक्ष बाबुरामले सल्लाह नगरी चैत ४ केन्द्रीय कार्यकारिणी समिति बैठक र ५ गते केन्द्रीय समिति बैठक बोलाएको भन्दै महिन्द्र समूहले विरोध जनाएको छ ।
बिहीबार नेसपाका महासचिव रमेशप्रसाद यादवले विज्ञप्ति जारी गर्दै भट्टराईले बोलाएको बैठक आधिकारिक नभएको जानकारी गरेका हुन् ।
“नेपाल समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठक मिति २०८० चैत ४ र ५ गते बोलाइएको सूचनाप्रति गम्भीर ध्यानाकर्षण भएको छ । अध्यक्षद्वयको सहमतिमा बोलाउनुपर्ने बैठक अध्यक्ष महिन्द्र राय यादवको सहमतिबिनै एकपक्षीय रूपमा अध्यक्ष डा। बाबुराम भट्टराईको निर्देशनमा बोलाइएकोले उक्त बैठक नेपाल समाजवादी पार्टीको बैठक नभएको जानकारी गराउँदछु” विज्ञप्तिमा उल्लेख छ ।
नेकपा माओवादी केन्द्रसँग पार्टी एकताको विषयलाई लिएर बाबुराम र यादवबीच विवाद उत्कर्षमा पुगेको हो । भट्टराई एकताको विरोधी र यादवसहितका नेताहरु एकताको पक्षमा उभिँदै आएका छन् ।