आज :

अनलाइन अपोइन्टमेन्ट लिएपनि राहदानी विभागमा घण्टौँ लाइन बस्नुपर्ने बाध्यता

  • अनलाइन डबली

काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागमा अनलाइनमार्फत अपोइन्टमेन्ट बुक गरेर आएका सेवाग्राहीले समेत घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता भोगिरहेका छन्।

अनलाइन प्रणालीमार्फत समय निर्धारण गरेर सेवा लिन पुगेका सेवाग्राहीले तोकिएको समयमा सेवा नपाउँदा सास्ती खेप्नुपरेको गुनासो गरेका छन्।

विशेषगरी आकस्मिक पासपोर्ट बनाउन पुगेका सेवाग्राहीले अनलाइनबाट समय लिएर निर्धारित समयमा उपस्थित भए पनि लामो समयसम्म लाइनमा बस्नुपरेको बताएका छन्। अनलाइन प्रणाली लागू भए पनि त्यसअनुसार सेवा प्रवाह हुन नसकेको उनीहरूको गुनासो छ।

विभागमा अपोइन्टमेन्टको मिति जाँच गरेर मात्र सेवाग्राहीलाई भित्र प्रवेश गराउने व्यवस्था छ। तर, अचम्मको कुरा के छ भने भोलिपल्टको अपोइन्टमेन्ट लिएका सेवाग्राहीसमेत एक दिनअघि नै विभाग पुगेर लाइनमा बस्ने गरेका छन्।

यसरी अघिल्लो दिनदेखि नै सेवाग्राहीको भीड लाग्दा अनलाइन अपोइन्टमेन्ट प्रणालीको प्रभावकारितामाथि प्रश्न उठेको छ। निर्धारित मिति र समयमा सेवा पाउने अपेक्षासहित आएका सेवाग्राहीले समेत लामो समय कुर्नुपर्ने अवस्था देखिएको छ।

पासपोर्ट बनाउन पुगेका लक्ष्मीप्रसाद मैनालीले नेपाल न्यूज बैंकसँगको कुराकानीमा अनलाइन प्रणाली र समय निर्धारणको औचित्यमाथि प्रश्न उठाए। उनले अनलाइनबाट समय लिएर आउँदासमेत निर्धारित समयमा सेवा पाउन नसकेको बताए।

उनले भने, ‘अनलाइन भरेको मतलब बुझेको छैन । टाइम दिएको छ २ः२० को हो तर २ः४५ सम्म पालो आएको छैन् । न अनलाइन, न लाइन नै सिस्टममा छ ।’

मैनालीका अनुसार उनी बिहानै राहदानी विभाग पुगेका थिए। सोधपुछलगायतका प्रक्रियामा समय बितेपछि विभागमा प्रवेश गर्न पनि ढिलाइ भएको उनले बताए। लामो समयसम्म लाइनमा बस्नुपर्दा सेवाग्राहीले अनावश्यक सास्ती भोग्नुपरेको उनको भनाइ छ।

‘कसलाई दोष दिने, अब आफैँलाई दोष दिने हो, कसैलाई दोष दिएर कामै छैन,’ उनले भने।

उनले अनलाइन प्रणालीबाट समय निर्धारण गरिसकेपछि सोही समयअनुसार सेवा उपलब्ध गराउनुपर्नेमा जोड दिए । अनलाइनबाट समय लिएर आउने सेवाग्राहीलाई पनि घण्टौँ लाइनमा बस्नुपर्ने अवस्था आउनु उचित नभएको उनले बताए।

‘अनलाइनमा भराएको छ, टाइम दिएको छ तर टाइमको पालना छैन । अनलाइन सिस्टम चलाएको हो भने टाइममा हुनुपर्यो,’ उनले भने।

मैनालीले अनलाइनबाट समय लिएर आएका सेवाग्राहीका लागि व्यवस्थित लाइनको व्यवस्था गर्नुपर्ने पनि बताए । त्यस्तै, राहदानी विभागबाहिर बिचौलियाको गतिविधि भइरहेको उल्लेख गर्दै उनले त्यसको निगरानी गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराए।

त्यस्तै, पासपोर्ट बनाउन पुगेका अर्का सेवाग्राही दीपकराज पौडेलले पनि लामो समयसम्म लाइनमा बस्नुपरेको गुनासो गरे। छिटो सेवा पाइने अपेक्षासहित अनलाइनबाटै भुक्तानी गरेर आएको भए पनि आफ्नो पालो कहिले आउने भन्ने निश्चित नभएको उनले बताए।

उनले भने, ‘बेलुका ५ बजेसम्म नि मेरो पालो आउँछ जस्तो छैन। छिटो हुन्छ भनेर पेमेन्ट पनि अनलाइनमै गरेर आएको हुँ ।’

अनलाइनबाट भुक्तानी गरिसकेपछि पनि सेवा पाउन ढिलाइ हुँदा थप अन्योलमा परेको पौडेलले बताए। पुनः पैसा तिरेर अर्को दिन आउँदा पनि काम हुने वा नहुने निश्चित नभएको उनको भनाइ छ ।

सेवाग्राहीको चाप व्यवस्थापन गर्न भुक्तानी गरिसकेका, अनलाइनबाट अपोइन्टमेन्ट लिएका र टाढाबाट आएका सेवाग्राहीका लागि छुट्टाछुट्टै लाइनको व्यवस्था गर्नुपर्ने उनले सुझाव दिए।

अनलाइन प्रणालीमार्फत सेवा प्रवाहलाई सहज बनाउने उद्देश्य राखिए पनि निर्धारित समयमै सेवा नपाउँदा सेवाग्राहीले सास्ती भोग्नुपरेको उनीहरूको गुनासो छ।

सेवाग्राहीले अनलाइन अपोइन्टमेन्टअनुसार सेवा उपलब्ध गराउने, लाइन व्यवस्थापन गर्ने र बिचौलियाको गतिविधि नियन्त्रण गर्न सम्बन्धित निकायले ध्यान दिनुपर्ने माग गरेका छन्।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal