काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले काठमाडौं महानगरपालिकामा तत्कालीन मेयर विद्यासुन्दर शाक्यको कार्यकालमा भएका कामहरु बाहेक हाल नयाँ केही नभएको दाबी गरेका छन् ।
उपाध्यक्ष पोखरेलले हालका मेयर बालेन्द्र साह (बालेन) लाई लक्षित गर्दै शाक्य मेयर भएर गरेका कामभन्दा कुनैपनि नयाँ कामहरु नभएको भन्दै एमालेले यसको लागि आवाज उठाउनुपर्ने बताए ।
“हिजो विद्यासुन्दर शाक्यले गरेका कामभन्दा अहिले कुन नयाँ कामहरु भएको छ । हिजो विद्यासुन्दर शाक्य मेयर हुँदा जे काम गर्नुभएको थियो, तिनै कामहरुभन्दा बाहेक नयाँ कुन काम भएको छ ? नयाँ नयाँ खालका झिल्के कुरा गर्ने, जनतालाई अपमानित गर्ने काम बाहेक अहिले के काम भएको छ ? हिजो विद्यासुन्दर शाक्य भएको बेला थालिएका कामहरुभन्दा नयाँ काम नभएकाले यसमा एमालेले बोल्नुपर्छ” पोखरेलले भने ।
राजनीतिक कुरा गरेर मात्रै नहुने भन्दै जनताको मुद्दाको बारेमा पनि आवाज उठाउनु एमालेको कर्तव्य भएको पनि उनको भनाई छ । पोखरेलले ८४ को चुनावमा एमालेले बहुमत ल्याउने नसके देशको दुरदशा बदल्न नसक्ने बताए ।
शनिवार नेकपा एमाले कामपा ५ वडा कमिटिको १२ औं अधिवेशन उद्घाटन समारोहमा उनले एमालेलाई सकाउनको लागि जति षड्यन्त्रहरु भएपनि एमाले पछि नपरेको भन्दै अब ८४ मा बुहमत ल्याउनुपर्ने बताए ।