
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले महाशिवरात्रि पर्वको शुभकामना दिएका छन् । पौडेलले एक शुभकामना सन्देश दिँदै नेपाली समाजलाई प्रगतिको बाटोमा अग्रसर गराउँदै हामी सबैको जीवनमा आध्यात्मिक जागरणको नयाँ उज्यालो छर्न सकोस् भनी शुभकामना व्यक्त गरेका छन् ।
राष्ट्रपतिको शुभकामना सन्देशमा भनिएको छ, “महाशिवरात्रिको पावन अवसरमा पाशुपत क्षेत्रसहित देशका विभिन्न भागमा रहेका सांस्कृतिक एवं धार्मिक सम्पदाको यथोचित संरक्षण एवं सम्वद्र्धन गर्न प्रण गर्नुपर्दछ ।पूर्खाको नासोका रूपमा हामीले पाएका सम्पदालाई मौलिक स्वरूपमा भावी पुस्तासमक्ष हस्तान्तरण गर्नु हाम्रो दायित्व हो, बागमती सभ्यता विकास भएको तथा काठमाडौँ उपत्यकाको जलाधारको रूपमा रहेको बागमती नदीलाई स्वच्छ र सफा राखिराख्नका लागि आजको दिनले सबैलाई प्रेरणा मिल्ने विश्वास लिएको छु ।”
शुभकामना सन्देशमा राष्ट्रपति पौडेलले मानव जातिले प्रकृतिसँगको असल सहकार्यबाट मात्र आफ्नो प्रगतिको बाटो रोज्नुपर्छ भन्ने तथ्यलाई अनेक सांस्कृतिक चाडपर्वजस्तै महाशिवरात्रिले पनि बेजोड रूपमा प्रकट गरेको उल्लेख गरे ।
त्यसैगरी राष्ट्रपतिले नेपाली भूमिसँग भगवान् शिवको सम्बन्ध विभिन्न वैदिक ग्रन्थमा वर्णन गरिएको बताउँदै आराध्यदेव पशुपतिनाथ एवं किरातेश्वर महादेवलाई साक्षात् शिव स्वरूप मानेर आस्था राख्ने विश्वभरिका श्रद्धालुका लागि नेपाल सदैव आध्यात्मिक चिन्तनको केन्द्र रहिआएको सन्देशमा उल्लेख गरेका छन् ।