काठमाडौं । दशैंपछिका २० दिनमा काठमाडौं उपत्यकामा मात्रै २ सय ६६ वटा सवारी दुर्घटना भएको छ । दुर्घटनामा परी सात जनाको मृत्यु भएको छ भने ३ सय ३० जना घाइते भएका छन् ।
उपत्यका प्रहरी कार्यालयका अनुसार कात्तिक ११ देखि ३० गतेसम्म काठमाडौं, भक्तपुर र ललितपुर जिल्लामा आफैं दुर्घटनामा परेको र अरुसँग ठोक्किएर दुर्घटना भएको गरी कूल २ सय ६६ वटा दुई र चार पाङ्ग्रे सवारी दुर्घटना भएको हो । जसमा सातजनाको मृत्यु भएको छ भने ३ सय ३० जना घाइते भएका छन् । साथै १ सय ८ जनालाई प्रहरीले पक्राउ गरेको जानकारी दिएको छ ।
उपत्यका प्रहरी कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार सबैभन्दा धेरै सवारी दुर्घटना काठमाडौं जिल्लामा भएको छ ।
काठमाडांैमा आफैँ दुर्घटनामा परेको ३९ र अन्यसँग ठोक्किई भएको दुर्घटना ९४ गरी १३३ वटा सवारी दुर्घटना भएका छन् । जसमा १६० जना घाइते हुँदा १ जनाको ज्यान गएको छ ।
यस्तै दोस्रोमा भक्तपुरमा आफैँ दुर्घटनामा परेको १६ र अन्यसँग ठोक्किई भएको दुर्घटना ६८ वटा गरी ८४ वटा र ललितपुरमा आफैँ दुर्घटनामा परेको १९ र अन्यसँग ठोक्किई भएको दुर्घटना ३० गरी कूल ४९ वटा सवारी दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।
यस्तै, २० दिनमा उपत्यकामा ३७ चोरीका घटना हुँदा एक करोड ३ लाख ६६ हजार १ सय ९५ रुपैयाँ बराबरका धनमाल चोरी भएको पनि प्रहरीले जनाएको छ । उक्त घटनामा संलग्न रहेको आशंकामा प्रहरीले ७ जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।