आज :

कान्तिपुर मिडिया ग्रुपलाई पत्रकार महासंघको चुनौती– आरोप पुष्टि गरेर देखाऊ

  • अनलाइन डबली

काठमाडौं । नेपाल पत्रकार महासंघले कान्तिपुर मिडिया ग्रुपले निकालेको विज्ञप्तिप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै महासंघविरुद्ध लगाइएको आरोप पुष्टि गरेर देखाउन चुनौती दिएको छ । कान्तिपुर पब्लिकेसनले प्रेस स्वतन्त्रताको चरम दूरुपयोग गरेको ठहर महासंघको छ ।

महासंघको बैठकले मिडिया ग्रुपले गरेको पत्रकारको गैरकानुनी निष्काषन र व्यवहारविरुद्ध थप आन्दोलन गर्ने निर्णय पनि गरेको छ ।

‘नेपाल पत्रकार महासंघलाई गम्भीर लाञ्छना लगाएर कान्तिपुर मिडिया गु्रपले निकालेको प्रेस विज्ञप्तिप्रति गम्भीर ध्यानाकर्षण भएको छ । उक्त विज्ञप्तिमा लगाइएका विभिन्न आरोप पुष्टि गर्न कान्तिपुर मिडिया ग्रुपलाई महासंघ चुनौती दिन्छ । गैरकानूनी तवरबाट निष्कासित पत्रकारलाई श्रमजीवी पत्रकार ऐनअनुसार सेवा, सुविधा दिन छाडेर महासंघलाई विभिन्न आरोप लगाउनुले महासंघले यसअघि कान्तिपुरको सम्पादकीय स्वतन्त्रतामाथि उठाएको प्रश्नलाई पुष्टि गरेको छ । महासंघको विश्वसनीयतामा प्रश्न गर्ने कान्तिपुरले कानुनको पालना गर भन्ने कुरालाई विभिन्न आरोप लगाएर प्रेस स्वतन्त्रताको चरम दुरुपयोग गरेको महासंघको ठहर छ ।’

महासंघले निष्कासित पत्रकारलाई श्रम ऐनअन्र्तगत सेवा सुविधा उपलब्ध नगराए पत्रकारको पक्षमा काम गर्ने अन्तर्राष्ट्रिय संघ र निकायमा उक्त विषयलाई लैजाने चेतावनी दिएको छ ।

बैठकपछि महासचिव रोसन पुरीले भने, ‘अन्तर्राष्ट्रिय पत्रकार महासंघ आइएफजेलगायत श्रम आन्दोलनको पक्षमा रहेका अन्तर्राष्ट्रिय संघ संस्थालाई कान्तिपुर मिडिया ग्रुपले गरेको गैरकानूनी कार्यको जानकारी गराउने तथा राष्ट्रिय मानवअधिकार आयोग, अन्तर्राष्ट्रिय श्रम संगठन आइएलजी, संयुक्त राष्ट्रसंघ लगायतसँग पनि श्रम अधिकारका विषयमा छलफल गर्ने निर्णय गरेका छौं ।’

महासंघका अध्यक्ष विपुल पोखरेलको अध्यक्षतामा आज बसेको महासंघको केन्द्रीय समिति बैठकले जाजरकोट केन्द्रविन्दु भई पश्चिम नेपालमा गएको भूकम्प पीडितलाई सहयोग गर्नेदेखि कान्तिपुर मिडिया गु्रप र पत्रकारबीचको लामो समयबाट नसुल्झिएको समस्याबारे सात बुँदे निर्णय गरेको हो ।

कान्तिपुरले स्वयंलाई क्षति हुने र विश्वसनियता घट्ने काम गर्न नहुने भन्दै अध्यक्ष विपुल पोखरेलले श्रम ऐनको व्यवहारिक कार्यान्वयन गर्न आग्रह गरे ।

साथै कमहासंघले तत्काल कान्तिपुरका पीडित पत्रकारको समस्या कानूनसम्मत समाधान गर्न ध्यानाकर्षण गराएको छ । साथै महासंघले कोभिड महामारीको समयमा सरकारले दिएको मिडिया सहुलियत कर्जा मिडियामै लगानी गरेको वा अन्य क्षेत्रमा गरेको भन्ने स्पष्ट पार्न कान्तिपुर व्यवस्थापकलाई ध्यानाकर्षण गराएको छ ।

बैठकको निर्णय सुनाउँदै रोसन पुरीले भने, ‘कोरोना महामारीपछि उत्पन्न आर्थिक मन्दीका कारण मिडिया उद्योग र पत्रकारमा परेको असर न्यूनीकरण गर्न महासंघकै अगुवाइमा सरकारले ल्याएको मिडियामा सहुलियत कर्जा कान्तिपुर मिडिया ग्रुपले सबैभन्दा धेरै लिएको कुरा व्यवस्थापनलाई जानकारी नै होला । उक्त कर्जा मिडियामै लगानी भएको छ वा अन्य व्यवसायमा भन्ने कुराको जानकारी दिन महासंघ व्यवस्थापनको ध्यानाकर्षण गराउँदछ । वर्षौंसम्म पसिना बगाएका पत्रकारलाई संस्थाबाट विदा हुने बेलामा कानूनले दिएको सुविधा देऊ भन्दा विभिन्न आरोप र अपमान गर्ने कार्य अत्यन्त निन्दनीय छ ।’

यस्तै, कान्तिपुर मिडिया ग्रुपका सञ्चार माध्यमहरूले महासंघविरुद्ध प्रकाशित तथा प्रसारित गरेको समाचारविरुद्ध महासंघ प्रेस काउन्सिल जाने निर्णय भएको छ ।

प्रतिक्रिया

Ad of KMC school

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal