आफन्त, साथीभाइले घरजग्गा, गाडी, सेयरलगायत अन्य व्यापारव्यवसायमा गरेको लगानी डुबेको थाहा पाएपछि वा बैंक तथा वित्तिय संस्थाको कर्जा तिर्न नसकेर सम्पत्ति लिलाम भएको थाहा पाएपछि अथवा बेरोजगारी वा सहकारीमा राखेको रकम डुबेको थाहा पाएपछि ऋण पनि पत्याएनन् । यसपालि यस्ता व्यक्तिहरुलाई दशैं लागेन ।
न त खसीबोका काट्न पाए न त नयाँ लुगा किन्न पाए वा टीका लगाइदिएर दक्षिणा नै दिन पाए । यसपालाको दशैं उनीहरुको खल्लो हुन पुग्यो । करिब दुई वर्षअघि करोड मूल्य पर्ने चिल्लो गाडी चढ्ने, महलजस्तो घरमा बस्ने, माथिदेखि तलसम्म सुनका गरगहना लगाउने र आफ्ना छोराछोरीहरु महंगा निजी विद्यालयमा पढाउनेहरुको आज बिजोग हुन पुगेको छ ।
अघिल्लो दशैंमा ठूल्ठूलो खसीबोका काट्ने, महंगा महंगा कपडा र नयाँ नयाँ गाडी किन्ने, विदेशी रक्सी खाने र टीका लगाइदिएर हजारौं रुपैयाँ दक्षिणा दिने उनीहरुको आज कन्तबिजोग भएको छ । उनीहरुको मात्र नभई मालपोत र यातायात कार्यालयमा लेखनदास गर्ने र कतिपय कानून व्यवसायीहरुको पनि दशैं खल्लो हुन पुग्यो ।
एक लाख आनाको जग्गा एकले अर्कोलाई दश लाख, अर्कोले अर्कोलाई २० लाख, २० बाट ४० लाख र ४० बाट ६० हुदैँ करोडसम्म पुगेको थियो त्यो जग्गाको । दलालीहरुले जग्गाको मूल्य बढाउनु बढाएका थिए । तर, अहिले घरजग्गाको कारोबार ठप्प भएपछि उनीहरुको ठगीधन्दा पनि बन्द भएको छ । हिजो करोड पुगेको जग्गा आज लाखमा झरेको छ ।
सेयर पनि त्यँही छ । बैंकले सय रुपैयाँमा निष्काशन गरेको सेयर एकले हजार, हजारबाट दुई र दुई हुदैँ पाँच हजारसम्म पुप्याइयो । पाँच हजार पुगेको सेयर आज सय रुपैयाँमा झरेकोछ । त्यो पनि बिक्री हुदैँन । यता, भारतमा एक लाख पर्ने गाडी दलालीहरुले नेपाल ल्याएर लाखदेखि करोडसम्ममा बेचेँ ।
२० लाखमा किनेको सवारीसाधन आज लाख रुपैयाँमा बिक्री हुन्न । घरजग्गाको मूल्य त अहिले पाँच दशकअघिको त फर्किएको छ । घरजग्गा, गाडी र सेयरको लाखौं मानिसले दलाली काम गर्दै आइरहेका थिए । उनीहरुले बीचमा बसेर नाफा कमाउँदै आएका थिए ।
मुलुकमा आर्थिक मन्दी आएपछि, बजारमा पाँच सय र हजारको नोट हाहाकार भएपछि, देशभर ७० प्रतिशत कोठा, फ्रल्याट र सटर खाली भएपछि, व्यापारव्यवसाय ठप्प भएपछि र पैसा मानिसहरुले घरघरमा लुकाएपछि घरजग्गा, गाडी र सेयरमा लगानी गर्ने कोही भएन । हिजो मेरो घरजग्गा, गाडी र सेयरको यति मूल्य बढ्यो भन्दै धाग लगाउनेहरु आज रोएर हिँडेका छन् । समाजमा लाजका कारण मुख छोपेर लुकीलुकी हिँडेका छन् ।
यति मात्र नभई उनीहरु बैंक तथा वित्तिय संस्था वा साथीभाइबाट लिएको ऋणका कारण मर्नु कि बाँच्नु अवस्थामा पुगेका छन् । फेरि उमेर पनि ढल्किसकेकाले अब कमाउन पनि कता नै जानु । भनिन्छ कि बलेको आगो जोकोहीले ताप्छ तर निभेको आगो कसैले ताप्दैँन । त्यसरी नै घरजग्गा, गाडी र सेयर लगानीकर्ताको हालत पनि यस्तो भएको छ ।
लगानी डुबेपश्चात् उनीहरुसँग दशैं मनाउनसमेत पैसा भएन । नयाँ कपडा, मासु त किन्न सकेनन् नै खहरा रक्सी समेत खान पाएनन् । आमाबुबाको गल्तीको मार बालबच्चाले भोग्नुपरेको छ । नाफा हुन्छ भनेर हिजो आमाबुबाले सम्पूर्ण लगानी घरजग्गा, गाडी र सेयरमा गरे । यतिसम्म कि यसैमा लगानी गर्न बैंक तथा वित्तिय संस्थाबाट समेत ऋण लिए ।
तर, आज लगानी डुबेपश्चात् आमाबुबा त भाग्नु पप्यो नै सँगै छोराछोरी पनि त्यसको भागीदार भएका छन् । उनीहरु शिक्षा, स्वास्थ्य र अवसरबाट वञ्चित हुनु परेको छ । अधिंकाश घरजग्गा, गाडी र सेयर दलालीहरु बैंक तथा वित्तिय संस्था अथवा साथी, आफन्तसँग लिएको ऋण तिर्न नसकेर भागेका छन् ।
यता, खातामा पैसा नभएको थाहा हुँदाहुदैँ पनि झुक्याउनका लागि दिएको चेक नसाटेपछि प्रहरीले चेक बाउन्समा समात्ने डरमा पनि धेरै दलाली भागेका छन् । कतिपय त जेल पुगेका छन् त कतिपय प्रहरी हिरासतमा छन् । छिट्टै धनी बन्ने आशमा दलालीहरुको लौंलौंमा मिटरब्याजमा समेत ऋण लिएर घरजग्गा, गाडी र सेयरमा लगानी गरेकाहरुले आज आफ्नो सम्पूर्ण धनसम्पत्ति त गुमाए नै समाजमा भएको इज्जत, मान र प्रतिष्ठा पनि गुमाए ।
जो व्यक्तिलाई ऋण थिएन, उसले आफ्नो घरमा जे थियो, त्यँही खाएर खुशीसाथ दशैं मनायो । जो व्यक्ति व्यापारव्यवसायमा डुब्यो वा बैंक तथा वित्तिय संस्थाको ऋण तिर्न सकेन, उसले दशैं पनि मनाउन सकेन । हिजो पाँच करोडको घरमा बस्ने व्यक्ति ऋण तिर्न नसकेर बैंकले लिलाम गरेपछि आज कोठा भाडामा बस्दै छन् ।
करोडको गाडी चढ्ने आज सार्वजनिक यातायात चढ्छन् त महंगा विदेशी रक्सी खाने आज भट्टी पसल धाउँछन् । यता, निजी विद्यालयमा छोराछोरी पढाउने र उपचार गर्न समेत विदेश धाउनेहरु आज पैसा नभएर सरकारी विद्यालयमा छोराछोरी पढाउँछन् त ठूलो रोग लागे मात्र अस्पताल धाउँछन्, त्यो पनि सरकारी । घरजग्गा, गाडी र सेयरमा लगानी गरेकाहरुको हालत असारमा आएको बाढीजस्तै भएको छ । हवात्तै मूल्य बढ्यो अनि घटि हाल्यो ।
अहिले घरजग्गा, गाडी र सेयरको मूल्य बढ्दैँन भनेर आम सर्वसाधारण थाहा पाइसकेका छन् । सहकारी डुब्नु र भाग्नुको कारण पनि यँही थियो । करोडौं बचतकर्ताको खर्बो रकम सहकारीले डुबाइदिएको छ । बैंक पनि त्यँही अवस्थामा आइसकेको छ । आम नागरिकले सहकारी र बैंक दुवैमा बचत गर्न छोडेका छन् ।
उल्टै उनीहरु त्यहाँ राखेको रकम पनि निकाल्न हतारेका छन् । अहिले बैंकका कर्मचारीहरु लिलाम गरेको घरजग्गा किन्ने मान्छे खोज्न चोकचोकमा हिँड्छन् । ऋणीले किस्ता नतिरेपछि तानेको गाडी पनि किन्ने कोही नभएपछि बैंकले थन्काएर राखेको छ । त्यस्तै, लिलाम गरेको सेयर पनि बेच्न खोजेपछि किन्ने कोही छैन ।
अहिले मुलुकको अर्थतन्त्र श्रींलकभन्दा नाजुक अवस्थामा पुगिसक्यो भनेर भूराले बुढासम्मले थाहा पाएका छन् । कित्ताकाट फुकुवा गरेपछि घरजग्गा कारोबार बढेन । १२ करोडको सीमा हटाएपछि सेयर कारोबार बढेन । अटो शोरुमहरुले मेला चलाउँदा पनि गाडी खरिदबिक्री भएन । अझै पनि अर्थमन्त्री डा.प्रकाशशरण महत अर्थतन्त्रमा सुधार भइरहेको भन्दै जनतालाई ढाँटिरहेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अर्थतन्त्र सुधारका निम्ति कमिटी गठन गर्ने बताउँछन् । उद्योगव्यवसायीहरु भने टालटुले निर्णयले अर्थतन्त्रमा सुधार नआउने र मुलुकको अर्थतन्त्र डुबिसक्यो भन्दै गीत गाउँछन् । अहिले बुढाबुढीहरु भन्छन्, ‘अहिलेसम्म देशको यस्तो अवस्था न सुनिएको थियो न त देखिएको नै थियो ।’
बजारमा खाद्यान्नको मूल्य दिन प्रतिदिन महँगिएको छ । खेतीयोग्य जमिन खण्डीकरण गरी घर र बाटो बनाएर मासिएको छ । अब डण्डी टोक्न मिल्दैन त घर खान मिल्दैँन । यता, उब्जनी हुने जमिन छैन । खेती गर्न जमिन चाहिन्छ । अनि जमिन नै सकिएपछि कहाँ खेती गर्ने ? चार दशकअघि एक रुपैयाँमा एक पाथी चामल पाइदैँन । एक पाथी चामलमा साढे दुई किलो हुन्छ ।
गहुँ, मकैं, कोदो मोर पाथी पाइन्थ्यो । अहिले सस्तो चामल भनेको सय रुपैयाँ किलो छ । पैसा हुनेले त यति महंगो चामल पनि किनेर खालान् । तर, पैसा नहुनेले बाटोको अलकत्र्रा कोटाएर खाने ? यसको जवाफ सरकारले दिनुपर्छ । भनिन्छ, बाघ भोक बस्छ तर घाँस खादैँन ।
अन्य मुलुकमा भोकमारी लागेपछि माटो समेत खाएको पाइन्छ । नेपालमा पनि यस्तै हुनेवाला छ । किनकि खेतीयोग्य जमिन घरबाटो बनाएर सकिएको छ । त्यसकारण अब नेपालीहरुले बाँच्नका निम्ति बाटो समेत खानुपर्ने परिस्थिति आउने छ । अहिले त भारतलगायत अन्य मुलुकले खाद्यान्न पठाएको छ र हामी नेपाली त्यँही आफ्नो भान्सामा पकाएर खाइरहेका छौं ।
तर, विदेशी मुलुकले खाद्यान्न पठाउन छोडेपछि माटो खानुबाहेक विकल्प रहँदैन । पाँच दशकअघि हरेक मानिसको घरमा भकारी हुन्थ्यो । त्यसमा धान, मकै., कोदोलगायत अन्न हुन्थ्यो । एकै व्यक्तिको बिसौं रोपनी जमिन हुन्थ्यो । २० रोपनी जमिन भएका व्यक्तिको आज दुई÷तीन आना जमिन छ ।
हिजो आफ्नो घरमा धानको भकारी हुनेहरु आज किराना पसलबाट किलोमा चामल ल्याएर खान्छन् । अहिले अधिंकाश घर खाली भएका छन् । कोठा, फ्रल्याट वा सटर लिएर बस्ने कोही छैन । चोक्टा खान गएकी बुढी झोलमै डुबेर मरी भनेझैं हिजो बसीबसी खान घरजग्गा, गाडी र सेयरमा लगानी गरेकाहरुले आज नाफा त कमाउन पाएनन् नै उल्टो भएको सम्पत्ति समेतगुमाए ।
- रुषा थापा, भक्तपुर
 
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          
                                          

अनलाइन डबली





