
काठमाडौँ । प्रदेश सभा सदस्य अक्कलबहादुर रावलले अछामका बाँकाबीर ( बलदेव शाह) लाई नेपालको प्रथम सहिद घोषणा गर्न माग गरेका छन् । सुदूरपश्चिम प्रदेशसभामा समसामयीक विषयमा कुरा राख्दै सांसद रावलले राणाको ज्यादती विरुद्ध बाँकाबीरको संघर्षको सम्मान गर्दै प्रदेश सभाबाट एक मतले नेपालको प्रथम सहिद घोषणा गर्न माग समेत गरे ।
नेकपा (माओवादी केन्द्र) बाट अछामबाट निर्वाचित रावलले भने, “सुदूरपश्चिममा जन्मिएका बाँकाबीरको बारेमा पनि अब छलफल चलाउने बेला भएको छ । बाँकाबीर नेपालका प्रथम सहिद हुन भन्ने कुरा आज बहसको विषय बनेको छ । अब सदनले बाँकाबीरलाई प्रथम सहिद हुन् भन्ने कुरा घोषणा गर्नको लागि आवाज उठाउनको लागि माग पनि गर्दछु । बाँकाबीरको लखन थापाभन्दा २८ वर्ष पहिले राणाविरुद्ध लड्दालड्दै टाउको काटिएको थियो ।”
माओवादी केन्द्रका युवा नेता तथा सुदूरपश्चिम प्रदेका उपाध्यक्ष रावलले बाकाबीरलाई प्रथम सहिद घोषणा गर्नुपर्छ भन्ने बहस संसदमै प्रवेश गराएका छन् । यसरी संसदमै बाकाबीरबारे कुरा पहिलो पटक उठेको हो ।
को हुन् बाँकाबीर ? किन काटियो टाउको ?
बाँकावीर वीरता र अर्को नाम हो । राणाहरुले अछाममी जनतामाथि गरेको अत्याचारविरुद्ध बहादुरीपूर्ण लडाइँ लगेकाले बलदेव शाहलाई बाकाबीर भनिएको हो । आजभोलि पनि अछाममा बाकाबीर शब्द नै लोकप्रिय छ । सामान्य जीवनमा पनि कसैले बहादुरका साथ काम सम्पन्न गरे उसलाई यो बाकाबीर हो भन्ने गरिन्छ । वि.सं. १९०६ सालमा बाकावीरले राणाविरुद्ध विद्रोह गर्न खोजेको इतिहासकार बताउँछन् ।
बाकावीर अछामी राजा रणभुप शाहका कान्छा छोरा थिए । उनीहरुको राजा र राजकुमारको पदवी राणा शासनपछिसम्म पनि कायम थियो । यही कारण पनि बाँकावीरको सम्बन्ध र सम्पर्क तत्कालीन राजा राजेन्द्रको दरबारसम्म रहेको मानिन्छ ।
देशको सुदूर–पश्चिम क्षेत्रमाथि निगरानी राख्न राणाहरुले अछाम जिल्लाको बान्निगढी भन्ने स्थानमा सैनिकक्याम्प राख्न लगाए । बान्निगढीमा राणा सरकारको सैनिकक्याम्प बसि सकेपछि अछामी जनताका दुःखका दिनहरु सुरु भए । राणाका सेनाहरु गाउँ पसेर खानेकुरादेखि चेली बेटीका इज्जत लुट्न थाले । राणाहरुको अत्याचारविरुद्धमा बाकावीरले विद्रोह सुरु गरे ।
बाकाबीरले राणाविरुद्ध लड्न शसस्त्र समूह नै गठन गरे । बाकावीरको बिद्रोहको समाचार काठमाडौंमा जंगबहादुरसम्म आइपुग्यो । काठमाडौँमै बाकाबीरको विद्रोह दबाउन योजना बन्यो । उनिहरुविरुद्ध सैन्य दस्ता नै परिचालन गरियो ।
अछामी जनताको साथ पाएका बाकाबीरलाई राणाको सेनाले भेटाउन सकेनन् । राणाहरु स्थानीय स्थानीय रुद्रसिंह स्वरलाई बाकाबीरविरुद्ध उभ्याउन सफल भए ।
इतिहासकार सुरतबहादुर शाह लेख्छन्ः
जङ्गबहादुरले श्री ५ राजेन्द्रलाई नजरबन्दमा राखेर अड्कलेको मानो खानुपर्ने बनाएकाले राजपरिवार तथा मोफसलका ठकुरी रिसाएका थिए ।
साथै अछाममा खटिने राणाका कर्मचारीलाई लैनो नौमुठे गाई सित्तैमा दिनुपर्ने, हाकिमलाई पिठ्युमा राखी बोकेर ठाउँठाउँमा डुलाउनुपर्ने, कर्मचारीलाई गोर्खाली मानो भनी चामल, दाल, घिउ, मसला उठाउनुपर्ने, छोरीचेली, नारीप्रति हातपात गर्दा अभिभावकले टुलुटुलु हेर्नुपर्ने बाध्यताले उनीहरू मुर्मुरिएका थिए। यस्तैमा अछामी राजासँग विवाह गरिएका गीर्वाणयुद्धकी छोरीपट्टीकी नातिनीबाट जन्मेका साहेबज्यू बलदेव शाह (बाँकावीर) ले राणाको फौजलाई रासन नदिने अभियान चलाए ।
एक्लै, दुक्लै भेटेका जवान र कर्मचारीको हत्या गर्न थालेपछि राणाहरूको इसारामा रुद्रसिंह स्वाँरले बाँकावीरको टाउको काटी हत्या गरे। उनको टाउको रातारात अछामको सिमाना कटाएर डोटी गौंडा हुँदै काठमाडौं पु¥याएका थिए ।