काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आगामी दिन प्राधिकरणका लागि थप चुनौतीपूर्ण रहेको बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित नेपाल विद्युत प्राधिकरणको ३८औं वार्षिकोत्सव समारोहमा कार्यकारी निर्देशक घिसिङले विद्युत व्यवस्थापन र गुणस्तर वृद्धि प्राधिकरणका लागि चुनौती बन्ने बताए ।
घिसिङले भने, “आगामी दिन प्राधिकरणको लागि थप चुनौतीपूर्ण छ, अहिलेसम्म प्राप्त उपलब्धिलाई संस्थागत गर्न,विद्युत व्यवस्थापन गर्न,विद्युत आपूर्तिको निम्ति गुणस्तर वृद्धि गर्नु प्राधिकरणको मुख्य चुनौती हुन् ।”
कार्यकारी निर्देशक घिसिङले आगामी १० बर्षको अवधिलाई देश विकासको घोषणा गर्न आवश्यक रहेको पनि बताए । उनले भने “आगामी १० वर्षलाई देश विकास दशक घोषणा गरी वर्तमान ऐन कानून संशोधन गरेर व्यापक र प्रतिस्थापन गर्नु पर्ने टड्कारो आवश्यकता देखिन्छ । वन क्षेत्रको जग्गा उपभोगलाई सहज बनाउन चालु आर्थिक वर्षको बजेटमार्फत केही कार्यक्रमहरु त घोषणा गरिएका छन् तर त्यसको कार्यान्वयनमा तर्फ जटिलता देखिन्छ ।”
सूचना प्रविधि तथा नीति तयार गरि संस्थाको सेवालाई अझै आधुनिकीकरण तथा स्वचालित गर्न आवश्यक भएको कार्यकारी निर्देशक घिसिङको भनाइ छ । प्राधिकरणले प्रदान गर्ने सेवामा प्रभावकारिता ल्याउने र प्रणलीलाई स्वचालित रुपमा सञ्चालन गर्ने कार्यलार्य उच्च प्राथमीकता दिईने उनको भनाई छ ।


अनलाइन डबली


