काठमाडौँ । भदौदेखि लागू हुनेगरी एक दर्जन बाणिज्य बैंकहरुले मुद्दती निक्षेपको ब्याज बढाएका छन्। ती बैंकहरुले व्यक्तिगत तथा संस्थागत मुद्दती निक्षेपको ब्याज बढाएका हुन्। त्यस्तै, चार बैंकले भने मुद्दती निक्षेपको ब्याज घटाएका छन् ।
विहीबार सार्वजनिक गरिएको रेटअनुसार नेपाल बैंक, कृषि विकास बैंक, सानिमा बैंक, राष्ट्रिय बाणिज्य बैंक, माछापुछ्रे बैंक, ग्लोबल आइएमई बैंक, सिटिजन्स बैंक, कुमारी बैंक, प्रभु बैंक, एभरेष्ट बैंक, सिद्दार्थ बैंक, लक्ष्मी सनराइज बैंकले ब्याज बढाएका छन् ।
नेपाल बैंक, कृषि विकास बैंक, कुमारी बैंक, ग्लोबल आइएमई बैंक, एनआईसी एसिया बैंक, सिटिजन्स बैंकले संस्थागत र व्यक्तिगत मुद्दती निक्षेपमा बढी ब्याज दिने घोषणा गरेका छन् । यी बैंकहरुले एक वर्ष वा त्यो भन्दा बढी अवधिका लागि व्यक्तिगततर्फ १०.८९६ प्रतिशत र संस्थागततर्फ ८.८९६ प्रतिशत ब्याज दिनेगरि ब्याजदर बढाएका छन् ।
त्यस्तै लक्ष्मी सनराइज, नबिल र प्राइम बैंकको ब्याज दोस्रो तहमा रहेको छ। उनीहरुले व्यक्तिगत मुद्दती निक्षेपतर्फ क्रमशः १०.४, १०.४९ र १०.५ प्रतिशत ब्याज दिने भएका छन् भने संस्थागततर्फ ८.४, ८.४९ र ८.५ प्रतिशत दिनेगरि ब्याजदर प्रकाशित गरेका छन्।
त्यस्तै प्रभु, एभरेष्ट, सिद्दार्थ बैंकले करिब करिब उस्तै ब्याज अर्थात व्यक्तिगत मुद्दती निक्षेपतर्फ १० प्रतिशत ब्याज दिने भएका छन् भने संस्थागततर्फ ८ प्रतिशत दिनेगरि ब्याजदर प्रकाशित गरेका छन्।
भदौदेखि लागू हुनेगरि ब्याजको दर स्थिर राख्नेमा नबिल, नेपाल एसबिआई, हिमालायन र नेपाल इन्भेष्टमेन्ट बैंक रहेका छन्। यद्दपि नबिल बैंकले साउनदेखि नै लागू हुनेगरि असारमा नै ब्याजको दर बढाएको थियो।
तर, स्ट्याण्डर्ड चार्टड, एनआईसी, प्राइम र एनएमबि बैंकले भदौदेखि लागू हुनेगरी ब्याजदर घटाएका छन्। यद्दपि एनआईसी, प्राइम र एनएमबिले साउनदेखि नै लागू हुनेगरि असारमा नै ब्याजको दर बढाएका थिए।
प्रकाशित ब्याजदरअनुसार स्ट्याण्डर्ड चार्टडले मुद्दती निक्षेपमा दिने ब्याज सबैभन्दा कम रहेको छ।