
काठमाडौँ । मुस्ताङको कागबेनी बजारमा पसेको बाढीले घर बगाएका स्थानीय अलपत्र परेका छन् । बारागुङ मुक्तिक्षेत्र गाउँपालिका–४ कागबेनीमा आइतबार साँझ बाढी पसेको थियो । एकाएक कागबेनी बजार बगरमा परिणत भयो ।
बाढीले घर र सम्पत्ति बगाइदिएपछि कागबेनीका सयौँ नागरिक खुला आकाशमुनी रात बिताउन बाध्य भएका छन् । कागबेनी बजार एकाएक कागखोलाले कालीगण्डकी नदीमा मिलायो ।
स्थानीयका अनुसार भारी वर्षासँगै एक्कासी मुक्तिनाथबाट कागखोलामा आएको बाढी कागबेनी बजारमा पसेको थियो । प्रहरीका अनुसार अहिलेसम्म २९ घर बगरमा परिणत भएका छन् भने १३ घरमा आंशिक क्षति भएका छन् ।
नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सहकार्यमा उद्धारकार्यलाई अझैं जारी राखेका छन् । प्रहरीका अनुसार सोमबार रातिसम्म चारपाङ्ग्रे दुईवटा सवारी, मोटरसाइकल ३०, एउटा पक्की मोटरेबल पुल, तीन काठेपुल बाढीले बगाएको छ ।
बाढीले प्रभु बैंकको घर र जनशान्ति माध्यमिक विद्यालयमा पनि क्षति पुगेको छ । त्यस्तै, मर्धशाला, गुम्बालगायतका संरचना पनि क्षति पुगेको छ ।