
काठमाडौं । लकस नेपालले आफ्नो १३ औं स्थापना दिवस अवसरमा गोदावरी नगरपालिका वडा ६ लामीडाँडाका गणेशबहादुर नगरकोटीलाई “लकस नेपाल वर्ष ब्यक्तित्व २०८० सम्मान” प्रदान गरेको छ ।
लकस नेपालको सहजीकरणमा १४ हजार लिटरको पानी शुद्धीकरण ट्याङ्की निर्माण तथा निरन्तर ब्यवस्थापनमा सक्रिय रहेका नगरकोटीलाई शनिवार आयोजित स्थापना दिवस समारोहमा उक्त सम्मान प्रदान गरिएको हो ।
४ कक्षासम्म मात्र अध्ययन गर्न पाएका, मजदुरी पेशा गर्दै आएका नगरकोटीले समुदायलाई नेतृत्व प्रदान गरी सम्पन्न गरेको कार्यले ८५ घरपरिवारलाई घरघर शुद्ध पानी पु¥याउने कार्य भएको छ । ५३ बर्षीय लामीडाँडा काफलडाँडा खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष नगरकोटीले आफ्नो नेतृत्वमा थप ६० हजार लिटरको पानी ट्याङ्की निर्माण गरी निरन्तर संचालन एवं व्यवस्थापन गरिरहेका छन् ।
नगरकोटीलाई सम्मान गर्दै प्रदेशमन्त्री रामकृष्ण चित्रकारले “लकस नेपालको सोंच एवं काम गर्ने शैली फरक भएको उल्लेख गरे । उनले थप सशक्त अभियानमा प्रदेश सरकारको साथ रहने प्रतिवद्धता समेत ब्यक्त गरे ।
कार्यक्रमका गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले भक्तपुर जिल्लाकै हाराहारी क्षेत्रफल रहेको गोदावरी नगरपालिकाभित्र मात्र एउटा स्थानीय तहले प्राप्त गर्ने बजेट प्राप्त गर्ने भएकाले योजनाअनुरुप कार्यसम्पादन चुनौतीपूर्ण बनेको उल्लेख गरे । लकस नेपाल एवं यस्तै अन्य संस्थाले अन्य पिछडिएका समुदाय केन्द्रित कार्यक्रमहरु थप गर्नुपर्ने तथा यसका लागि गोदावरी नगरपालिका सहकार्य गर्न तत्पर रहेको उनको भनाइ थियो ।
कार्यक्रममा ललितपुर महानगरपालिकाका उपप्रमुख मञ्जली शाक्य बज्राचार्य, बागमती गाउँपालिका अध्यक्ष वीर बहादुर लोप्चन, लोप्चन, ललितपुर महानगरपालिका ११ वडा अध्यक्ष अरोजकुमार खड्गी, ललितपुर महानगरपालिका २२ वडा अध्यक्ष सागर तुलाधर तथा संस्थाका सल्लाहकार डा. शिलेन्द्र शाक्य, शाक्य सुरेन तथा कानूनी सल्लाहकार किरण शाक्यको समेत उपस्थिति रहेको थियो ।
कार्यक्रममा स्थानीय उत्पादनहरु प्रदर्शनी तथा विक्री स्टाल समेत राखिएको थियो । लकस नेपालको सहजीकरणमा अहिले बागमती गाउँपालिका वडा ३ स्थित भट्टेडाँडाको सातकन्या सामुदायिक कृषक समुहको अगुवाईमा मास्क उत्पादन, जडिवुटी खेती, पशुपालनका लागि घाँस उत्पादन तथा गोदावरी नगरपालिका वडा ४ वडिखेलमा ठूलो खोला आमा समुहको अगुवाईमा मास्क उत्पादन, सावुन उत्पादन, जुडिवुटी खेती कार्यक्रम सम्पन्न भएको छ । यस्तै ललितपुर महानगरपालिका वडा २२ फर्सिडोल, गोदावरी नगरपालिका वडा ४ मासडाँडा, गोदावरी नगरपालिका –६ लप्सेमा संस्थाको कार्य स्थल विस्तार गरी कार्य योजना अनुरुप कार्यक्रमहरु आरम्भ गरिएको छ ।
लकस नेपालले आफ्नो १३ औं स्थापना दिवसको अवसरमा गत बुधवार लकस नेपाल गान, वेभसाइट सार्वजनिक गर्नुका साथै लकस नेपाल बर्ष ब्यक्तित्व २०८० सम्मान घोषणा गरेको थियो ।
लकस नेपालले आउटरिच इन्टरनेशनलसँगको सम्झौतामा कृषिमा बेर्ना उत्पादन, तरकारी खेती, पशुपालन, जडिवुटी खेती, गोलभेडा टनेल खेती, घाँस उत्पादन, बचत तथा ऋण मार्फत जीवनस्तर उकास्ने, पानी शुद्धीकरण ट्यांकी निर्माण लगायतका कार्यमा सहकार्य गर्दै आएको छ ।