काठमाडौं । आज साउन महिनाको १५ गते । साउन १५ लाई खिर खाने दिनको रुपमा मनाइँन्छ । नेपाली समाजमा पुस्ताैंदेखि असार १५ गते दहीच्यूरा र साउन १५ मा खिर खाने परम्परा छ ।
विज्ञहरुका अनुसार साउने झरी पर्ने बेलामा तातो खिरले स्वामस्थ्यलाई राम्रो गर्ने भएकाले खिर खाने गरिएको हो । दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खिरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यसको परम्परा बसेको विश्वास गरिन्छ ।
हरियाली बढी हुने भएकाले घाँस बढी पाइन्छ । राम्रा धेरै घाँस पाइने बेलामा गाई, भैँसीले पनि धेरै दूध दिन्छन् । दूध धेरै भएपछि इष्टमित्र, चेलीबेटीलाई घरमा बोलाएर खिर खाने चलन चलेको विश्वास छ ।
चामल, साबुदाना, सेवई, मकै, गाजर लगायतको खिर बनाउने गरिन्छ । साउन महिनामा हरियो मकै धेरै पाइने भएकाले मकैको खिरसमेत बनाएर खाने चलन छ । दूधबाट बनेको खिरले मानव शरीरमा रोग प्रतिरोधी क्षमता विकास गर्ने राष्ट्रिय दुग्ध विकास बोर्डले जनाएको छ ।
बोर्डको २०७७ साल फागुन १५ गते बसेको बैठकले साउन १५ लाई खिर खाने दिन अर्थात् खिर दिवसका रुपमा मनाउने निर्णय गरेको थियो ।


अनलाइन डबली

