
काठमाडौं । सरकारले अतिविशिष्ट र विशिष्ट व्यक्तिहरुको उपचारको व्यवस्था वीर अस्पतालमा गरेको छ । क्याविन विस्तार गर्नुको साथै १५ जना विज्ञ चिकित्सकको टोली तयारी अवस्थामा राखिएको छ । विदेश उपचार गर्न गए सरकारले खर्च नतिर्ने स्वास्थ्य तथा जनसंख्यमन्त्री मोहन बस्नेतले बताए ।ा
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (वीर अस्पताल) को एक सय ३४औँ वार्षिकोत्सवका अवसरमा मन्त्री बस्नेतले अस्पतालमा भीआईपी र भीभीआईपी क्याबिन विस्तार गरिएको र १५ जना चिकित्सकको टोली परिचालन गरिएको जानकारी दिए । उनले अतिविशिष्ट र विशिष्टदेखि आम नागरिकलाई स्वास्थ्य सेवा दिन सक्षम छ भन्ने सन्देश विश्वलाई दिनुपर्ने समेत बताए ।
उपचारमा कुनै कमजोरी नगर्न अस्पतालको व्यवस्थापनलाई आग्रह गर्दै मन्त्रालयले आवश्यक सहजीकरण गर्ने विश्वास दिलाए ।
समाज सेवामा नाफा लिने नियत गलत राख्न नहुने उल्लेख गर्दै मन्त्री बस्नेतले दश प्रतिशत गरिब, विपन्न, बेवारिसे तथा असहाय केन्द्रीय अस्पतालमा तीन हजार पाँच सय २३ शय्या निःशुल्क र सरकारी अस्पतालमा विद्युतीय टिकट अनिवार्य गराइएकाले बिरामीलाई सेवा दिने सवालमा कुनै सम्झौता नगर्न पनि निर्देशन दिए । मन्त्री बस्नेतले स्वास्थ्य क्षेत्रका दक्ष जनशक्तिलाई स्वदेशमै काम गर्न सक्ने सहज वातावरण निर्माण गर्ने जनाए ।
अहिले वीर अस्पतालका सात शय्या विपन्नका लागि निःशुल्क गरिएको छ । ओपीडी सेवा बिहान ८ बजेदेखि सञ्चालन गरिएको छ ।