
काठमाडौं । लुम्बिनी विकास कोषमा नयाँ नेतृत्वको लागि लेनदेनको कुरा सुनिएको र यदि त्यस्तो भए देश र जनतामाथि घात हुने कुरा अभियान्ता प्रहलाद यादवले बताएका छन् । बुधबार संवाद डबलीसँग कुरा गर्दै लेनदेनका प्रक्रियाबाट ल्याए यो सरकार निकै बदनाम हुनेसमेत दाबी गरेका छन् ।
विवादित निवर्तमान उपाध्यक्ष अवधेश त्रिपाठी सहित अरु विवादित व्यक्तिको चर्चाले आफूहरुलाई निराश बनाएको स्थानिय यादवले बताए । लम्बिनी टूर गाईड एसोसियसनका पूर्व अध्यक्षसमेत रहेका यादवले निवर्तमान उपाध्यक्ष त्रिपाठीले लुम्बिनी गुरुयोजना विपरित कार्य गर्दै करोडौंको भ्रष्टाचार गरेको आरोप लगाएका छन् । त्रिपाठी विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा भ्रष्टाचारको फाईल रहँदै गर्दा पर्यटन मन्त्रालयले १३ बुँदे स्पष्टिकरणले उनको विवादित छवि छर्लङग भइसकेको बताए ।
गत जेठ महिनामा मन्त्रालयले सोधेको स्पष्टिकरणमा अधिकांश आरोपहरु सत्यताको निकट रहेकोले सरकारले उनलाई कुनै पनि हालतमा दोहोराउन नहुने बताए । स्वच्छ छविका व्यक्तिहरुलाई ल्याएर गुरुयोजना कार्यान्वयनमा लाग्नु पर्ने बताउँदै भने,“अबधेश जीले जसरी लम्बिनीको बदनाम गराउनु भएको छ त्यस्तै व्यक्ति अरु ल्याए नेपालको अन्तराष्ट्रिय वेइजत हुन्छ ।”