
काठमाडौं । कडा सुरक्षा हुने विमानस्थलबाट एक सय किलो सुन भन्सार पास भयो भन्ने झट्ट सुन्दा विश्वास लाग्दैन तर त्यस्तो भएको छ । बुधबार अहिलेसम्मकै धेरै करिब १०० किलो सुना विमानस्थलबाट बरामद भएको छ ।
विमानस्थलको अध्यागमन र प्रहरीले चेकजाँच गरेर पठाइसकेको अवस्थामा उक्त परिणामको सुन राजस्व अनुसन्धान विभागले बरामद गरेको हो । मोटरसाइकल र स्कुटरको ब्रेकसु तथा दाह्री काट्ने रेजरमा लुकाइ हङकङबाट तस्करी गरेर ल्याइएको सुन बरामद गरेको विभागले जनाएको छ ।
विमानस्थलको भन्सार गेट अगाडिबाट ट्याक्सीमा हालेर लैजान लागेका बेला विभागबाट खटिएको विशेष टोलीले सुन बरामद गरेको हो । एकै पटक १०० किलो सुन बरामद भएको पहिलो घटना समेत भएको विभागले जनाएको छ । सुनसँगै तीन जना बरिया पनि पक्राउ परेका छन् ।
यसअघि २०७४ साल भदौमा चिनियाँ तस्करले भित्र्याएको ८८ किलो सुनसहित काठमाण्डौको क्षेत्रपाटीबाट गाडी चालक पक्राउ परेका थिए ।
बरामद गरेको सुन विभागले जोखेर राष्ट्र बैंककाे टक्सार माहाशाखामा पठाउने तयारी गरिएको छ ।
राजश्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले अधिकृत तोकेर तस्करीको सुनको अनुसन्धान अघि बढाइने बताए । ढुंगानाले सुनबारे थप अनुसन्धान गर्न केन्द्रीय बैंक पठाउने समेत बताए ।
एक कुइन्टल सुन सजिलै विमानस्थलको कडा मानिएको भन्सार पास कसरी भयो भन्ने प्रश्न उठेको छ । एक अपराधि प्रकृतिका व्यक्तिले त्रिभुवन विमानस्थलबाट हात्ति छिराउन सकिन्छ भनेको कुरा सही सावित हुँदै गएको छ ।
तस्करी गरेको यति ठूलो परिणामको सुन सजिलै अध्यागन र प्रहरीको सुरक्षा घेराबाट बाहिर आउन सक्दैन । यसमा सबैको मिलेमताे हुन सक्ने बताइएको छ ।