
काठमाडौँ । कान्ति बाल अस्पतालले विवादित फोहोरमैला व्यवस्थापनसम्बन्धी ठेक्का रद्द गरेको छ । फोहोरमैला व्यवस्थापन (वेइष्ट मेनेजमेन्ट सिस्टम)सँगै आपूर्ती र धुलाईसँग सम्बन्धी बोलपत्र पनि रद्द गरिएको छ ।
वेइष्ट मेनेजमेन्ट खरिदमा २ करोड अनियमितता गर्नेगरी सम्झौता भएपछि अनलाइन डबलीले समाचार सार्वजनिक गरेको थियो । जम्मा १ करोड पर्ने उक्त मेसिनको तेब्बर मूल्य बढाएर खरिद गर्ने तयारी भएको सार्वजनिक भएपछि चौतर्फी विरोध भएको थियो भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत साँचो व्यक्त गरेको थियो ।
वेइष्ट मेनेजमेन्ट विवादित भएसँगै अन्य दुईवटा बोलपत्र पनि रद्द गरिएको अस्पताल स्रोतले बताएको छ । “वेइष्ट मेनेजमेन्ट मात्रै रद्द गर्दा अन्य प्रश्न उठ्ने भएकोले निर्देशकज्यूले तीनवटै बोलपत्र रद्द गरिएको हो । वेइष्ट मेनेजमेन्ट सबैभन्दा बढी विवादित बनेको थियो” स्रोतले भन्यो ।
अस्पतालले असार २६ गते सूचना जारी गरेर आव २०७९÷०८० को बजेटमा समावेश नभएकोले बोलपत्र रद्द गरिएको जनाएको छ । KCH–6 -2079/080 नम्बरको सूचना रद्द गरिएको हो ।
अस्पतालका निर्देशक डा. युवा निधि बसौलाले स्वास्थ्य सचिव डा. रोशन पोखरेलसँगको मिलेमत्तोमा बजेट सुनिश्चित नहुँदै तेब्बर मूल्य बढाएर वेइष्ट मेनेजमेन्ट सिस्टम खरिदसम्बन्धी बोलपत्र अगाडि बढाइएको थियो ।