
काठमाडौँ । अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी केन्द्र) ले प्रधानमन्त्री पत्नी सिता दाहालको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै परिवाजनमा समवेदना व्यक्त समेत गरेको छ । संगठनका अध्यक्ष चित्रबहादुर श्रेष्ठले विहीबार शोक वक्तव्य जारी गर्दै सिताको नेपालको राजनीतिक परिवर्तन र वर्गीय मुक्ति आन्दोलनमा अमूल्य योगदान रहेको बताएका छन् ।
अध्यक्ष श्रेष्ठले पद, पैसा र प्रतिस्ठाप्रति कुनै आशक्ति नराखेकी सिताले प्रचण्डलाई राष्ट्रनायकको रुपमा स्थापित गर्न महत्वपूर्ण भूमिका रहेको बताएका छन् । नेकपा (माओवादी केन्द्र) निकट किसान संगठनले सिताको निधनले पार्टी वर्ग र नेपालको कम्युनिस्ट आन्दोलनले गम्भीर क्षति पुगेको श्रेष्ठदारी शोक विज्ञप्तिमा उल्लेख गरिएको छ ।
“क. सीता दाहाल २०२८ सालदेखि नेपालको कम्युनिस्ट आन्दोलनमा संगठित भई पञ्चायतकाल, जनयुद्धकालका साथै शान्तिपूर्ण संघर्षको कालमा समेत नेपालको राजनीतिक परिवर्तन र वर्गीय मुक्तिको आन्दोलनमा अमूल्य योगदान गर्दै आउनुभएको थियो । पद, पैसा र प्रतिष्ठाप्रति कुनै आशक्ति नभएकी, अध्यक्ष क. प्रचण्डको व्यक्तित्व तथा पदीय जिम्मेवारीबाट प्राप्त शक्तिलाई कहिल्यै दुरुपयोग नगर्ने, कहिल्यै विवादमा नपर्ने र क. प्रचण्डलाई निरन्तर सहयोग गरेर एक सफल राष्ट्रनायकको रूपमा स्थापित गर्न पूर्ण सहयोग गर्नुभएकी क. सीता दाहालको निधनले हाम्रो पार्टी, वर्ग र नेपालको कम्युनिस्ट आन्दोलनलाई गम्भीर क्षति पुग्न गएको छ” शोक विज्ञप्तिमा भनिएको छ ।
नेपालको राष्ट्रियता, जनजीविका, राजनीतिक परिवर्तन र वर्गीय मुक्तिको संघर्षमा खेलेको भूमिका उच्च सम्मानसहितसंगठनले हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै सिताले देखेको समाजवादी नेपाल निर्माणको सपनालाई पूरा गर्न एकताबद्ध हुन, समाजवादको झण्डालाई अझै माथि उठाउनका लागि सक्दो योगदान गर्न अपील समेत शोक वक्तव्यमा गरिएको छ । साथै, न्याय, समानता, समृद्धि एवम् सुशासनसहितको भ्रष्टाचारमुक्त नयाँ नेपाल निर्माण गर्न प्रधानमन्त्री प्रचण्डले सुरु गरेको महाअभियानलाई दृढतापूर्वक सहयोग र समर्थन गर्न संगठनका नेता कार्यकर्तालाई आग्रह श्रेष्ठले गरेका छन् ।