आज :

हिमाल आरोहणको उत्साह : ७६ देशका १४ सय ९३ आरोहीद्वारा अनुमति, करिब ३२ करोड ३७ लाख रोयल्टी संकलन

  • अनलाइन डबली

मनिषा बस्नेत-

काठमाडौं । चालू वर्षको शरद ऋतुमा नेपालका हिमाल आरोहणका लागि पर्वतारोहीहरूको उल्लेख्य आकर्षण देखिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागबाट प्राप्त आधिकारिक तथ्यांकअनुसार यस सिजनमा विश्वका विभिन्न देशबाट आएका आरोहीहरूले हिमाल आरोहणका लागि अनुमति लिएका छन् ।

कार्तिक १२ गतेसम्मको तथ्याङ्क हेर्दा यस सिजनमा कुल ७६ देशका १७१ वटा आरोही टोलीबाट जम्मा १,४९३ जना आरोहीले हिमाल आरोहणको आधिकारिक स्वीकृति (परमिट) लिइसकेका छन् । अनुमति लिने कुल आरोहीहरूमा ३५६ जना महिला र १,१३७ जना पुरुष रहेका छन् । नेपालका हिमालहरूप्रति अन्तराष्ट्रिय पर्वतारोहीहरूको आकर्षण बढ्दोक्रममा रहेको यो तथ्यांकले देखाउँछ ।

पर्यटन विभागका सूचना अधिकारी सुरज घिमिरेले उपलब्ध गराएका तथ्याङ्क अनुसार नेपालका हिमालहरूमध्ये सबैभन्दा बढी आरोहीहरूको चाप ८,१६३ मिटर उचाइको प्रसिद्ध मनास्लु हिमालमा देखिएको छ । मनास्लु हिमाल आरोहणका लागि मात्र ४३ वटा टोलीका ५०० जना आरोहीले अनुमति लिएका छन्, जसमध्ये ३७३ जना पुरुष र १२७ महिला रहेका छन् । मनास्लुबाहेक ८,६१४ मिटर उचाइको आमादब्लम हिमालमा पनि ३४ वटा टोलीबाट कुल ४१२ जना (३११ पुरुष र १०१ महिला) आरोहीले अनुमति लिएको देखिन्छ ।

यसैगरी, हिम्लुङ हिमाल १३० जना, बरुण त्से ६५ जना, थापा पिक ५५ जना, लगायतका हिमालहरूमा पनि आरोहीहरूको उल्लेख्य भीड देखिएको छ । साना तथा मझौला हिमालदेखि आठ हजार मिटरभन्दा माथिका चुचुराहरूसम्मै यसपटक पर्वतारोहीहरूको सक्रियता उत्साहजनक रहेको छ ।

पर्यटन विभागको देशगत अनुमति प्रतिवेदन अनुसार यसपटक विश्वभरका ७६ भन्दा बढी राष्ट्रका नागरिकहरू नेपालका हिमालहरू आरोहण गर्न भित्रिएका छन् । प्राप्त तथ्यांकअनुसार यस सिजनमा सबैभन्दा धेरै संयुक्त राज्य अमेरिकाबाट १२१ जना आरोहीले अनुमति लिएका छन् । त्यसैगरी, रुसबाट ११३ जना, युनाइटेड किंगडमबाट १०२ जना, फ्रान्सबाट १३६ जना, चीनबाट १४२ जना, नर्वेबाट ३२ जना, जर्मनीबाट ९७ जना, इटालीबाट ६३ जना र स्पेनबाट ५५ जना आरोहीहरूले नेपालका हिमाल आरोहणको अनुमति प्राप्त गरेका छन् ।

छिमेकी मुलुक भारतबाट ४० जना आरोहीहरू आएका छन् भने यसै सिजनमा नेपालबाट पनि ३७ पुरुष र ३ महिला गरी कुल ४० जना स्वदेशी नागरिकले हिमाल आरोहणका लागि अनुमति लिएको देखिन्छ ।

हिमाल आरोहण अनुमति जारी गरेबापत नेपाल सरकारले यस शरद ऋतुमा मोटो रकम राजश्व संकलन गरेको छ । विभागको प्रतिवेदनअनुसार हालसम्म हिमाल आरोहण रोयल्टीबापत कुल २१,२८,१०९ अमेरिकी डलर अर्थात् नेपाली रुपैयाँमा ३२,३७,८८,९९० रुपैयाँ (करिब ३२ करोड ३७ लाख रुपैयाँ) संकलन भइसकेको छ ।

संकलित कुल रोयल्टी रकममध्ये सबैभन्दा ठूलो हिस्सा मनास्लु हिमालको मात्र रहेको छ । एक्लो मनास्लु हिमालबाट मात्रै १४,८५,८१६ अमेरिकी डलर अर्थात् २२,५८,५७,१८९ नेपाली रुपैयाँ रोयल्टीबापत सङ्कलन भएको छ । त्यसैगरी, आमादब्लम हिमालबाट ४,०४,००० अमेरिकी डलर (६,१६,५१,६५० नेपाली रुपैयाँ) राजस्व उठेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal