
काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन ‘अनन्त’ ले अर्को नेता जनार्दन शर्मा ‘प्रभाकर’ लाई महासचिव बन्न आग्रह गरेका छन् । पार्टी निकट अखिल क्रान्तिकारीको कार्यक्रममा अनन्तले विप्लवलाई लक्षित गर्दै प्रचण्डविरुद्ध बम हान्दै हिड्नेहरुले सरकारको कामलाई धन्यवाद दिएको र आफूहरुले नसकेको भन्ने भनाईको खण्डन गरे ।
पार्टी अध्यक्ष प्रचण्डले सोही कार्यक्रममा अघिल्लो दिन पार्टीभित्रैबाट सहयोग नपाएको भन्दै दोस्रो तहका नेताहरुको आलोचना गरेका थिए । प्रचण्डले आलोचना गरेपछि दोस्रो तहका प्रभावशाली नेताहरु एउटै मंचमा देखा परेका थिए ।
सोही कार्यक्रममा अनन्तले प्रभाकरलाई महासचिव बन्न आग्रह गरेका हुन् । ‘हामीबीच कुनै विवाद छैन, प्रभाकरजी तपाईँ महासचिव बन्नुस्, मेरो स्वास्थ्य पनि ठिक छैन । म बरु सरकारका कामहरुलाई सहयोग गरौंला’ अनन्तले भने ।
विप्लवलाई लक्षित गर्दै प्रचण्डविरुद्ध बम हान्नेहरुले सरकारको कामलाई धन्यवाद भनेकोमा नेतृत्व खुशी भएको प्रतिव्यांग्य गर्दै अनन्तले भने ‘हिजो नेतृत्वलाई बम हान्दै हिंड्नेहरुले सरकारको कामलाई धन्यवाद भनेछन्, हाम्रो नेतृत्व पनि खुसी भयो रे ! हामी भित्रै बसेर नेतृत्वलाई बचाउ गर्नेहरुले धन्यवाद भन्न सकिएनछ ।’
त्यसपछि बोलेका प्रभाकरले पनि आफूहरुबीच कुनै विवाद नभएको बताए । नेतृत्वका आकांक्षी बीचमा सानोतिनो प्रतिस्पर्धाको भावना देखिएको हुनसक्ने भन्दै प्रभाकरले त्यसले समग्र पार्टी कामलाई प्रभावित नपारेको दाबी समेत गरे । उनले प्रचण्डले त्यसलाई बढाइँचढाइ गरेर प्रस्तुत गरेर अप्ठेरोमा पार्न खोजिएको दु:खेसो गरे ।
कार्यक्रममा बोल्दै प्रभाकले दोस्रो पुस्ता अहिले पनि नेतृत्वलाई काँध थापेर हिंड्न तयार रहेको बताए । प्रचण्डलाई जवाफ दिने भाषामा प्रभाकरले भने, ‘नेतृत्वलाई साथ छ, शुभकामना छ । जसअपजस जेमा पनि नेतृत्वको प्रतिरक्षा गर्दै आयौं । कहाँनेर बिग्रियो त कुरो ? भन्दिनुपर्यो नि ! रैथानेले सघाएनन् भनेर पुग्छ र ?’
कार्यक्रममा अर्का उपहासचिव शक्तिबहादुर बस्नेतले पनि बोलेका थिए । उनले पनि खुलेरै प्रचण्डको भनाईलाई खण्डन गरेनन् ।