आज :

‘एनपीएलले नेपाललाई खेल पर्यटनको ‘हब’ बनाउने सम्भावना बढायो’

  • अनलाइन डबली

आकांक्षा धामी –

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) ले नेपाललाई खेल पर्यटनको ‘हब’का रुपमा विकसित गर्ने सम्भावना बढाएको अग्रज खेल पत्रकारहरुले बताएका छन् ।

नेपाल न्यूज बैंकसँग कुरा गर्दै अग्रज पत्रकारहरुले एनपीएल नेपाललाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने र पर्यटकहरुलाई नेपाल भित्राउने शसक्त माध्यमका रुपमा विकसित भइरहेको बताए ।

उनीहरुका अनुसार एनपीएलका नाममा मात्रै सयौं विदेशी खेलाडीहरु र त्यत्तिकै संख्यामा खेल व्यवस्थापनसँग जोडिएका व्यक्तिहरु नेपाल आउने र तिनले विश्वमा नेपालको प्रचार गर्ने सम्भावनाको विकास भएको छ ।

उनीहरुले भने, ‘पर्यटनका हिसाबले नेपाल एउटा ठूलो सम्भावना बोकेको देश हो । प्राकृतिक सौन्दर्य, हिमाल, धार्मिक तथा सांस्कृतिक सम्पदा र साहसिक पर्यटनका कारण नेपाल विश्वकै आकर्षक गन्तव्यका रूपमा चिनिन्छ । एनपीएल आयोजनाका सन्दर्भमा नेपाल आउनेहरुले यहाँको यहि परिचय विश्वभर फैलाउने छन् ।’

अग्रज पत्रकारहरुका अनुसार पछिल्लो समय खेलकुद, विशेषगरी क्रिकेटले नेपालको पर्यटन प्रवद्र्धनमा नयाँ सम्भावनाको ढोका खोल्दै गएको छ । एनपीएलमा सहभागी हुन आउने अन्तर्राष्ट्रिय खेलाडी, उनीहरूमार्फत हुने विश्वव्यापी प्रचार र क्रिकेटप्रति बढ्दो आकर्षणले नेपाललाई खेल पर्यटनको गन्तव्यका रूपमा स्थापित गर्ने आधार तयार गरिरहेको छ ।

‘एनपीएल केवल क्रिकेट प्रतियोगितामा मात्र सीमित छैन, यो नेपाललाई अन्तर्राष्ट्रिय खेल पर्यटनको गन्तव्यका रूपमा स्थापित गर्ने सम्भावनायुक्त माध्यम पनि बन्दै गएको छ,’ उनीहरुले भने’ ‘विदेशी खेलाडीको सहभागिता, नेपाली क्रिकेटप्रति दर्शकको आकर्षण र अन्तर्राष्ट्रिय स्तरमा भइरहेको प्रचारले नेपाललाई खेल पर्यटनको हब बनाउने आधार तयार गरिरहेको छ ।’

एनपीएलका विभिन्न संस्करणसँगै अन्तर्राष्ट्रिय खेलाडी, प्रशिक्षक तथा प्राविधिक जनशक्ति नेपाल आउने क्रमले प्रतियोगिताको दायरा फराकिलो बनाएको छ । यसले नेपाली क्रिकेटको पहिचान विस्तार गर्नुका साथै पर्यटन प्रवद्र्धन, आर्थिक गतिविधि र अन्तर्राष्ट्रियस्तरमा नेपालको छवि निर्माणमा समेत योगदान पुर्याउन सक्ने खेल पत्रकारहरूको भनाइ छ ।

अग्रज पत्रकार मुकुन्द दाहालले पाकिस्तान र इन्डियाले लिएको उचाइ नेपालले पनि लिनसक्ने भन्दै एनपीएलको तारिफ गरे । ‘एनपीएलले जुन आकर्षण दिलायो, जुन स्तरका खेलाडी नेपालको मञ्चमा आइरहेका छन् यसले नेपालको खेल पर्यटनमा ठूलो योगदान पुर्याइरहेको छ । कालान्तरमा नेपाल खेल पर्यटन योग्य थलो बन्न सक्ने आधारहरु देखिएका छन् । एनपीएलले त्यो स्थापित गर्दै गएको छ,’ उनले भने ।

अग्रज पत्रकार निरञ्जन राजवंशीले विदेशी खेलाडीहरु नेपाल आएर खेल मात्र खेल्ने नभइ पर्यटकीय गन्तब्यहरुको भ्रमण गरेर प्रचार गरिरहेको बताए । ‘कुनै समय शिखर धवन नेपाल आएर खेल्नुभयो । केही स्थान ट्राभल गर्नुभयो र सामाजिक संजालमा पोष्ट गर्नुभयो । त्यसको धेरै इम्प्याक्ट पर्यो । अहिले पनि टप टप खेलाडीहरु आइरहेको छन् । अहिले नेपालमा आएर खेल्न जो पनि तयार हुँदै गएका छन् । त्यो पब्लिसिटी भनेको त एकदम बिग हो,’ उनले भने ।

अर्का खेल पत्रकार प्रकाश तिम्सिनाले पनि नेपालले इन्टरनेशनल लेभलको ग्राउन्डको मान्यता पाएकाले खेल पर्यटनको विकास हुनेमा आफू ढुक्क रहेको प्रतिक्रिया दिए ।

‘पर्यटनको सम्भावना बढेको छ । किनभने अब नेपालले इन्टरनेसनल लेभलको ग्राउन्डको मान्यता पनि पाएको छ । काठमाडौँमै दुईवटा इन्टरनेशनल लेभलका क्रिकेट एकेडेमी ग्राउन्ड छन् । भोलिका दिनमा यो बृहत् हुँदै प्राइभेट स्तरमा ग्राउन्डहरु तयार होलान । पोखरा र चितवनमा तयार हुँदैछन् । जसका कारण आगामी दिनमा नेपाल एउटा क्रिकेटको हब हुन सक्ने सम्भावना देखिएको छ,’ उनले भने ।

पत्रकार अजय फुयाँलले पनि विदेशबाट आएका खेलाडीहरु नेपालका पर्यटकीय स्थलहरु घुमेर आनन्द लिने र पर्यटनलाई सघाउ पुर्याइरहेको बताए ।

‘एनपीएलका लागि संसारका ठूला ठूला सुपरस्टार वा सेलिब्रेटीहरु नेपाल आइरहेका छन् । उनीहरुले नेपालको पशुपतिनाथ, लुम्बिनी, जानकी धामतिर पुगेर फोटोहरु इन्स्टाग्राममा पोष्ट गरिरहेका छन् । त्यसको प्रभाव विश्वभर पुगिरहेको छ । त्यो भनेको एनपीएलले बनाइदिएको अवसर हो । जसका कारण टुरिज्मलाई फाइदा पुगेको छ,’ उनले अगाडि भने,‘एनपीएलले अन्तर्राष्ट्रिय समुदायमाझ नेपालको परिचय विस्तार गर्ने अवसर दिएको छ ।’

एनपीएलको तेस्रो संस्करण आगामी कात्तिक ९ देखि मङ्सिर ६ गतेसम्म काठमाडौंको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आयोजना हुँदैछ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टिम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal