काठमाडौं । काठमाडौंको लाइफलाइनको रुपमा रहेको मुग्लिन–नारायणघाट सडकखण्ड फेरि बन्द भएको छ । २८ घण्टापछि खुलेको सडक फेरि बन्द हुन पुगेको छ ।
चितवनको इच्छाकामना गाउँपालिकामा पर्ने तुइन खोला नजिक फेरि पहिरो खसेपछि सडक बन्द भएको प्रहरीले जनाएको छ । अस्ति बिहीबार दिउँसो पनि यही ठाउँमा पहिरो खसेर बन्द भएको सडक हिजो बेलुकी ५ बजेदेखि खुलेको थियो ।
इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार रोकिएका गाडी गन्तव्यमा जान नभ्याउँदै फेरि आज बिहान सवा ३ बजे पहिरो खसेर सडक बन्द भएको छ । पानी परिरहेकाले तत्काल पहिरो खुलाउन समस्या भएको प्रहरीको भनाइ छ ।
पहिरो खुले पनि माथिबाट लगातार ढुंगा झरिरहने भएकाले यो ठाउँमा जोखिम बढेको छ । यो सडक हुँदै दैनिक औसतमा १० हजार वटा गाडी आउजाउ गर्ने गर्दछन् । पटकपटक सडक बन्द हुँदा पूर्व र पश्चिम हुँदै काठमाडौं ओहोरदोहोर गर्ने यात्रु बढी मर्कामा परेका छन् ।
विभिन्न जिल्लाबाट काठमाडौं आउँदै गरेका र काठमाडौंबाट बाहिरिएका यात्रुहरु तीनदिनसम्म मुग्लिनमा अलपत्र परेका छन् ।


अनलाइन डबली

